बाह्रबिसे पहिरो : पाँच जनाको शव निकालियो, ३१ बेपत्ता
सिन्धुपाल्चोकको बाह्रबिसे-७ घुम्थाङको पहिरोमा पुरिएका पाँच जनाको शव भेटिएको छ। शव निकालिएकामध्ये दुई जनाको सनाखत हुन बाँकी छ।
सनाखत भएका तीन जनामा नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ, विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।
प्रहरीका अनुसार पहिरोमा पुरिएर ३१ जना बेपत्ता भएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरू उद्धार कार्यमा खटिएका छन्। पहिरोमा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा लगिएको छ।
यसैबीच, सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन्। उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेका हुन्।