अक्सफोर्ड र अस्ट्राजेनेकाले बनाइरहेको कोरोनाको खोप परीक्षण फेरि शुरु हुने
अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप लिएका एक व्यक्ति बिरामी भएपछि रोकिएको तेस्रो चरणको परीक्षण फेरि शुरु हुने भएको छ।
उक्त खोप तेस्रो चरणमा अमेरिका, ब्राजिल, दक्षिण अफ्रिका र बेलायतमा तेस्रो चरणको परीक्षण भइरहेको छ। तेस्रो चरणमा ३० हजारलाई खोप दिइने बताइए पनि बेलायतमै एक व्यक्ति बिरामी भएपछि परीक्षण रोकिएको थियो।
गएको मंगलबार परीक्षण रोक्ने निर्णय भएपछि ती व्यक्तिलाई देखिएको असर खोपसँग सम्बन्धित भए/नभएको जाँच गरिने अस्ट्राजेनेकाले जनाएको थियो। शनिबार अक्सफोर्ड विश्वविद्यालयले खोप सुरक्षित देखिएकाले परीक्षणलाई निरन्तरता दिन सकिने जनाएको छ।
विश्वविद्यालयका स्वास्थ्य सचिव म्याट हान्कोकले भाइरस परीक्षण फेरि शुरु हुने सार्वजनिक गरेका हुन्। उनले भनेका छन्, “परीक्षण स्थगनले देखाएको छ कि हामी सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छौँ। हाम्रा वैज्ञानिकबाट सकेसम्म चाँडो र सुरक्षित प्रभावकारी खोप दिनका लागि फेरि फर्कने छौँ।”
ठूलो संख्यामा गरिने परीक्षणमा केही सहभागीलाई विसन्चो हुनु अपेक्षाकृत नै भएको विश्वविद्यालयको विज्ञप्तिमा जनाइएको छ। अब स्वतन्त्र सुरक्षा समीक्षा समिति र बेलायतका नियामकले अनुमति दिनेबित्तिकै परीक्षण पुनः शुरु हुनेछ। तर, खोप लिएपछि बिरामी भएको भनिएका व्यक्तिबारे अक्सफोर्ड र अस्ट्राजेनेकाले केही बताएका छैनन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अहिले विश्वमा १८० वटा कोरोनाभाइरस खोपको परीक्षण चलिरहेको छ। तीमध्ये कुनैले पनि अन्तिम चरणको परीक्षण पूरा गरेका छैनन्। करीब तीन दर्जनको तेस्रो चरणको परीक्षण चलिरेको छ।
-बीबीसीबाट