सिन्धुपाल्चोकमा फेरि पहिरो, दर्जनभन्दा बढी घर बगे, एक जनाको मृत्यु, कम्तीमा १६ बेपत्ता
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा ७ भीरखर्कमा खोल्सा थुनिएर आएको पहिरोका कारण एक जनाको मृत्यु भएको छ भने कम्तीमा १६ जना बेपत्ता छन्।
पहिरोले दुई वटा बस्तीका घरहरु बगाएको छ। भीरखर्कका केही घर बगाउँदै आएको पहिरोले नागपुजेमा अझै ठूलो क्षति गरेको छ। त्यहाँ ४२ वर्षीय रामकुमारी श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले* जानकारी दिए।
उनका अनुसार पहिरोमा कम्तीमा १६ जना बेपत्ता भएका छन्। स्थानीयले भने यो संख्या अझै धेरै हुनसक्ने बताएका छन्। घटनास्थलमै रहेका शिक्षक बजीरसिंह भण्डारीका अनुसार नागपुगेमा मात्र कम्तीमा १५ जना बेपत्ता छन्।
भीरखर्क भन्ने ठाउँमा पनि आधा दर्जनभन्दा बढी घर बगेका छन्। त्यहाँ अहिलेसम्म तीन जना बेपत्ता भएको थाहा भएको उनले बताए। तर, यो संख्या धेरै हुनसक्ने उनले बताए। यहाँको पहिरोले पनि जुरे पहिरोजस्तै माथिबाट बग्दै गएर धेरै तलसम्म क्षति पु¥याएको उनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तीन वटै निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्वारमा खटिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी सापकोटाले प्रहरीको एउटा टोली भर्खरै घटनास्थल पुगेको जानकारी दिए।
*सच्याएको