कोरोना अपडेट: देशभर ६१५३ जना संक्रमित होम आइसोलेसनमा, सबभन्दा धेरै बागमती प्रदेशमा
नेपालमा कुल कोरोना संक्रमितमध्ये ६१५३ जना होम आइसोलेसनमा बसिरहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म मुलुकमा ५३१२० जनामा कोरोना संक्रमण देखिएको छ भने त्यसमध्ये ३७५२४ जना निको भएका छन्। ३३६ जनाको मृत्यु भइसकेको छ।
मन्त्रालयको २७ भदौको तथ्यांक अनुसार कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १५२६० छ । जसमा ९१०७ संस्थागत रुपमा आइसोलेसनमा छन्, भने बाँकी ६१५३ जना घरमै आइसोलेसनमा छन्।
होम आइसोलेसनमा रहेकाहरूमध्ये अधिकांश बागमति प्रदेशमा २५१७ जना कोरोना संक्रमित छन्।
स्वास्थ्य मन्त्रालयले सिकिस्त भए मात्र अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने भन्दै लक्षण नदेखिएका र हल्का लक्षण देखिएका कोरोना संक्रमितलाई घरमै आइसोलेसनमा बस्न आग्रह गर्दै आइरहेको छ।
बागमती प्रदेशमा संस्थागत आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या पनि अन्य प्रदेशको तुलनामा बढी छ।
शनिवारसम्ममा बागमती प्रदेशमा मात्रै होम आइसोलेसनमा बस्ने व्यक्तिको संख्या ५१४६ छ।
संस्थागत आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या सबैभन्दा कम कर्णाली प्रदेशमा २४९ छ।
तर होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या सबैभन्दा कम गण्डकी प्रदेशमा ७६ जना छ।
२५ भदौको तथ्यांक अनुसार आइसोलेसनमा रहेका कोरोनाका सक्रिय संक्रमितको संख्या १४५१९ थियो।
यीमध्ये ८०१० संस्थागत आइसोलेसनमा र ६४३८ संक्रमित होम आइसोलेसनमा थिए।