सीपीएल सकेर आईपीएल खेल्न यूएई गए सन्दीप
नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ गएका छन्। उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर आज यूएई उडेका हुन्। ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गएका उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।
आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन्। यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ।
सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका छन्। आईपीएल आगामी ३ असोजदेखि शुरु हुँदैछ। सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल ४ असोजमा किंग्स इलाभेन पञ्जावसित हुनेछ। उनलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो।
सन्दीप सिपिएल खेल्न गत १५ साउनमा ट्रिनिडाड एन्ड टोबागो गएका हुन्। नियमित उडान बन्द भएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए। यस वर्षको सिपिएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन्।
सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो। सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए। उनी सीपीएलमा सर्वाधिक विकेट लिनेको सूचीमा छैटौँ स्थानमा रहे।