तीन कठ्ठा जमिनमा फल्न थालेको तरकारी खेती अज्ञात समूहद्वारा नष्ट
बन्दाबन्दीले हरियो तरकारीको अभाव शुरु भएसंगै मूल्य बढेको बेला मोरङ कटहरी ४ का एक किसानको तीन कठ्ठा बारीमा फलेको बोडीका लहरा अज्ञात समूहले काटेर नष्ट गरिदिएको छ।
राति ९ बजेसम्म बारी कुरेर घर गएका किसान हरी यादवले २७ भदौ बिहान सबै बोडीका लहरा काटेर नष्ट गरेको अवस्थामा पाइएको बताए।
भर्खरै फल्न थालेको ३ हजार भन्दा बढी बोडीका लहरा फेदमै काटिएको छ। लहरा काट्नेले केही बोडी टिपेर समेत लगेको यादवको अनुमान छ।
सिजनमा बोडी दिन बिराएर एक क्विन्टलसम्म टिप्न मिल्ने यादवले बताए। यो पटक भने उनले जम्मा एक क्विन्टल मात्रै टिपेर बिक्री गरेका थिए। यादवले तीन कट्ठाबाट ३५ क्विन्टल बोडी उत्पादन हुंने अनुमान गरेका थिए।
हाल बजारमा रु ८० देखि रु १०० प्रतिकिलोमा हरियो बोडी बिक्रि हुन्छ। यादवले एक बिगहा जमिनमा विभिन्न खाले तरकारी लगाएका छन्। वर्षामा डुबानबाट जोगाउन उच्च ठाउंमा निकै मेहनत गरेर तरकारी लगाएको उनको भनाइ छ।
बन्दाबन्दीमा मल र बीउको अभाव खेप्दै लगाएको तरकारी उत्पादन हुन थालेपछि क्षति पुर्याएपछि उनी चिन्तित बनेका छन्। यादवका भाइ प्रमोदले प्रहरीमा निवेदन दिएर दोषीलाई कारवाही गर्न माग गर्ने बताए।
बोडीसंगै लगाइएको लौका र काक्राका लहरापनि काटिएको छ। कटहरी ४ का वडाध्यक्ष मन्टु शेखका अनुसार, सो वडामा धेरै जसो किसान व्यवसायीक तरकारी खेतीमा लागेका छन्। कटहरीको तरकारीको विराटनगरको थोक बजारमा पुगेपछि अन्य जिल्लामा पनि जाने गरेको छ। बेमौसमी बोडी उत्पादन गरेर बढी मुल्यमा बिक्री हुंन थालेको देखेर अरू कुनै किसानले वा यादवको ब्यक्तिगत दुस्मनी भएका मानिसले क्षति गरेको हुनसक्ने अनुमान वडाध्यक्ष शेखको छ।
किसानले बेमौसमी तरकारी उत्पादन गरेर वर्षभरीको कमाई गर्ने गरेको बताउंदै उनले हरियो तरकारीमा क्षति पुर्याउनेको खोजी वडा कार्यालयबाट पनि गरिने जानकारी दिए। गत चैतमा बन्दाबन्दी शुरु भएपछि कटहरीका किसानको तरकारी बारीमै कुहिएर गएको थियो।