नेपालका २१ वटा हिमतालहरू फुट्ने खतरा, सतर्कता अपनाउन विज्ञहरूको आग्रह
नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र संयुक्त राष्टसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनले हिमताल फुट्ने खतरा रहेको देखाएको हो।
जलवायु परिवर्तनको कारण नेपालका २१ वटा हिमताल फुट्ने खतरा रहेकोले सतर्कता अपनाउन विज्ञहरूको आग्रह छ।
शून्य दशमलव ०२ वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफल ओगट्ने १४ सय बढी हिमताल रहेकोमा नेपालका २१ वटा तालहरू जोखिममा रहेको इसिमोडका वरिष्ठ जलवायु विज्ञ डा. अरुण श्रेष्ठले बताए। त्यसमध्ये नेपालका च्छो रोल्पा र इम्जा हिमताल खतरामा रहेका छन्।
प्रतिवेदनले नेपाल बाहेक तिब्बती क्षेत्र र भारतमा समेत गरी ४७ वटा हिमतालहरूलाई खतराको सूचीमा राखेको छ।
नेपालमा सबैभन्दा बढी कोशी बेसिन तथा तीनवटा गण्डकी र दुईवटा कर्णाली बेसिनका रहेको प्रतिवेदनमा उल्लेख छ। तिब्बत क्षेत्रमा २५ र भारतमा १ वटा हिमताल यस्तो खतरामा रहेका छन्।
कहिले फुट्न सक्छन् भनेर मिति तोक्नसक्ने अवस्था नभएपनि तालको बनावट, पानीको आयतन, वरिपरिको संरचना र तटिय क्षेत्रमा रहेका बस्ती तथा संरचनाहरू जोखिममा रहेकाले सतर्क रहन उनले आग्रह गरे।
जोखिम न्यूनिकरणका लागि नेपालको तर्फबाट धेरै कामहरू भएको उनको भनाइ छ। जोखिम न्यूनिकरणको पहिलो पाइलास्वरुप अहिलेको रिपोर्ट सार्वजनिक भएको उल्लेख गर्दै उनले अब स्थलगत अध्ययन गरी रिपोर्टलाई थप परिस्कृत गर्नुपर्ने बताए। अहिलेको अध्ययन भू-उपग्रहले खिचेको तस्वीरहरूको विश्लेषण हो।
विगतमा च्छो रोल्पा र इम्दा हिमतालमा जल सतह घटाउने काम समेत भएको उनले बताए। जलवायु परिवर्तनसँग यसको सम्बन्ध भएकाले आगामी दिनमा जोखिम झन बढ्दै जाने उनले बताए। अब पानीको सतह कम गर्दै पूर्व सूचना प्रणालीको विकास गर्नुपर्ने उनको भनाइ छ।
मौसमको अवस्था, भौगर्भिक अवस्था र हिमताल वरपर हुने मानवीय गतिविधिलाई अध्ययन नगरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
हिमतालहरू फुटेमा पहाडी क्षेत्रमा पानीको गति तीव्र हुने र यसले बाढीको खतरा निम्त्याउने उल्लेख गरिएको छ। नेपालको जलविद्युत क्षेत्रमा पनि यसले असर गर्ने सम्भावना रहेको उनले बताए। अध्ययनका क्रममा कोशी, गण्डकी र कर्णाली बेसिनमा ३,६२४ वटा हिमताल पाइएको प्रतिवेदनमा उल्लेख छ। त्यसमध्ये २,०७० वटा नेपाल, १,५०९ वटा तिब्बत र ४५ वटा भारतमा पाइएका छन्।