वर्णसङ्कर विचारको बिगबिगी
सदियौंदेखि निरन्तर मौलिक संस्कृति ऋषिपञ्चमीलाई ‘गुप्ताङ्ग धुने दिवस !’ भन्दै उडाइनु नयाँ बीउ, मल र विषादीले बाली सप्रने व्यापारिक दाबी जस्तै वर्णसङ्कर विचारको दरिद्रता हो ।
ठीक एक सय वर्षअघि १९७७ सालमा सुब्बा कृष्णलाल अधिकारीले ‘मकैको खेती’ पुस्तक लेखे । पुस्तकमा ‘रातो टाउके र कालो टाउके कीरा’, ‘बेलाइती कीरा’ जस्ता शब्दले तत्कालीन राणा शासक चन्द्रशमशेरलाई इङ्गित गरेको भन्दै उनलाई ९ वर्षका लागि जेल हालियो । १९८० सालमा जेलमै उनको निधन भयो ।
इतिहासमा यसलाई मकैको खेती पर्वका रूपमा पनि पढिन्छ, अधिकारीलाई देशकै प्रथम साहित्यिक शहीद भन्नेहरू पनि छन् ।
‘मकैको खेती’ मा राणा शासक विरुद्ध प्रष्ट कुनै किटानी नभए पनि कतिपयले जंगबहादुर र चन्द्रशमशेर लगायतका राणा शासकले पश्चिमाको संस्कृति र शिक्षा भित्र्याएर रैथाने संस्कृति मास्न थालेको र त्यसको सांकेतिक अवज्ञा सुब्बा कृष्णलालले गरेको ठान्नेहरू पनि छन् ।
यता सात वर्षअघि २०७० सालतिर हाम्रो मकै बालीमा पनि हाइब्रिड अर्थात् वर्णसङ्कर र जेनेटिकल्ली मोडिफाइड अर्थात् आनुवंशिक परिवर्तन गरिएका मकै लगायतका फलफूलका बीउ ल्याइने चर्चा चल्यो ।
अमेरिकी कम्पनी मोनसान्टोको यस्तो बीउ नेपाल ल्याउन र ‘कृषि क्रान्ति’ गर्न अमेरिकी सरकार नै लाग्यो । तर, यस्ता बीउले गरीब देशलाई मूल बीउबाट अलग गरेर आफ्नै वर्णसङ्कर बीउमा निर्भर बनाउने चाल बुझेपछि मोनसान्टो विरुद्ध अभियान नै चल्यो । अन्ततः अदालतले नै यस्ता बीउबिजन तत्काल निभित्र्याउन आदेश दिनुपर्याे।
वर्णसङ्कर भनेकै मूल मासेर खच्चर बनाउने प्रक्रिया हो । संस्कृतिलाई नै खच्चर बनाउने यस्तो अभ्यासको असर हामी पछिल्लो समय मनग्गे देखिइरहेका छौं । खासगरी यहाँका मौलिक चाडपर्वहरू विरुद्ध सञ्चारमाध्यम र खासगरी सामाजिक सञ्जालमा यस्तै खच्चर अभियान चल्न थालेको छ । यस्तो अभियान भन्छ– हाम्रा सदियौंदेखिका संस्कृति कुरीति हुन्, आचारव्यवहार पुरातन हुन्, पहिरन र भान्छा पाखे हुन् अनि शास्त्र यी सबैका रक्षक।
बीउ आउन पाएन तर आयातित मल र विषादीको लत हाम्रा बाली र माटोलाई लागिसकेको छ । विगतमा प्राङ्गारिक मल हाल्दा मात्रै पनी एक कट्ठामा ६ मन धान उत्पादन हुन्थ्यो । तर अहिले जे जती उत्पादनकालागी पनी रासायनिक मल नहाली हुदैन । थोरै बाली बढ्ने लोभमा माटो बिग्रिएको छ । डर त मलको अधिक प्रयोगबाट माटोले उत्पादन नै नदिने त होइन भन्ने छ ।
आधुनिक र विकासे नामधारी बीउ, मल, विषादीबाट हाम्रो रैथाने बालीनाली, माटोको मौलिकता मासिए जस्तै यतिबेला हाम्रो रैथाने संस्कृति र सभ्यता नामेट गर्न पश्चिमा संस्कृतिका विकृतिको प्रवेश भइसकेको छ । जसरी वर्णसङ्कर अनाज र तरकारीमा मौलिक स्वाद छैन, पश्चिमा हावासँग मिसिएको वर्णसङ्कर विचारका कारण हाम्रो सामाजिक समाजको आचारव्यवहार र मानवीयतामा समेत ह्रास आइरहेको छ ।
विस्तारै हाम्रो संस्कृतिको बीउ मासिंदैछ । नेपाली समाजलाई परस्पर बेमेल, फुट, अन्तरध्वंश बनाउनेतर्फ उन्मुख गराउँदैछ ।
वर्णसङ्कर भनेकै मूल मासेर खच्चर बनाउने प्रक्रिया हो । संस्कृतिलाई नै खच्चर बनाउने यस्तो अभ्यासको असर हामी पछिल्लो समय मनग्गे देखिइरहेका छौं । खासगरी यहाँका मौलिक चाडपर्वहरू विरुद्ध सञ्चारमाध्यम र खासगरी सामाजिक सञ्जालमा यस्तै खच्चर अभियान चल्न थालेको छ । यस्तो अभियान भन्छ– हाम्रा सदियौंदेखिका संस्कृति कुरीति हुन्, आचारव्यवहार पुरातन हुन्, पहिरन र भान्छा पाखे हुन् अनि शास्त्र यी सबैका रक्षक ।
बदलामा जतिसुकै विसङ्गत भए पनि पश्चिमाका सबै कुरा सभ्य र वैज्ञानिक भन्ने विचारका एकथरी बिरामी छन्, जो विना कुनै तर्क, बहस, सनातन संस्कृतिको वकालत गर्नेमाथि आँखा चिम्लेर झम्टन्छन् । पछिल्लो उदाहरण हो– ऋषिपञ्चमीलाई ‘... धुने दिवस’ भन्दै गरिएको अपमान ।
‘गुप्ताङ्ग धुने दिवस !’
ऋषिपञ्चमीमा किन व्रत बसिन्छ ? कुनै पनि संस्कारका मनोवैज्ञानिक पक्षको बोध नै नगरी केवल भौतिकवादी व्याख्या मात्र गर्नेले ऋषिपञ्चमीलाई 'महिला जननेन्द्रिय धुने'मा सिमित देख्नु अस्वाभाविक बिल्कुल होइन ।
ऋषिपञ्चमी वैदिक संस्कृतिमध्येको पुरानो संस्कृति हो । खासमा यसलाई दतिवन दिवस भने पनि हुन्छ । ऋषिपञ्चमीको दिन दतिवन अर्थात् संस्कृतमा अपामार्ग नाम भएको वनस्पतीले शरीरका सबै अंग धुने गरिन्छ । मुखसमेत धुन नभ्याइ काममा लादिएका छोरीहरु माइत आएर औषधिय गुण भएको ठाउँविशेष अनुसार फरक स्थानिय नाम (चिरचिटा, चिरचिरी,लटजीरा, चिरचिरा इत्यादी) भएका दतिवनले आनन्दले नुहाउन पाउने सांस्कृतिक मनोविज्ञानसँग यो पर्व गाँसिएको छ । ‘एकिरान्थिस आस्पेरा’ वैज्ञानिक नाम भएको यो वनस्पतिलाई चिकित्सा विज्ञानले समेत औषधीय गुण भएको प्रमाणित गरिसकेको छ । यो वनस्पतिलाई छाला र जोर्नीको दुखाइ, पाठेघरको समस्या, मुखका खटिरा, दुर्गन्ध हटाउन समेत प्रयोग गरिन्छ । भारतको उत्तरप्रदेशमा महिलामा प्रसव वेदना, रक्तस्रावका साथै गर्भपतनपछिको उपचारमा दतिवनको प्रयोग पुरानो प्रचलन हो ।
अष्ट्रेलिया र केन्यामा पनि दतिवनलाई औषधिकै रूपमा जनस्तरमा मान्यता दिइएको छ । केन्यामा मलेरियाको उपचारमा समेत दतिवन सहायक मानिन्छ ।
ऋषिपञ्चमीको व्रतमा ३६५ वटा दतिवनले दाँत माझेर नजिकैको नदी, तलाउ, धारा तथा कुवामा नुहाएमा पाप मोचन हुने धार्मिक विश्वास छ । तर, यहाँनेर पाप र धर्मको सत्यतथ्यमा बहस गर्नुअघि हजारौं वर्षअघि समाजलाई बाँध्ने कुरा भनेकै पाप र धर्म थिए भनी बुझ्नु आवश्यक छ । त्यसकारण यो विश्वासमा धर्म र पापभन्दा बढी स्वास्थ्य जोडिएको अनुमान गर्न सकिन्छ।
चरक संहितामा दतिवनको बीजको धूलो एक गिलास पानीमा राखेर खाए सात दिन भोक नलाग्ने लेखिएको छ । संहिताको सूत्रस्थानको दोस्रो अध्यायको नाम नै अपामार्ग तण्डुलीय अध्याय राखिएको छ ।
ऋषिपञ्चमीलाई ‘गुप्ताङ्ग धुने दिवस’ भनेर उल्याएर स्वघोषित सचेत र शिक्षित बुद्धिजीवीमा दरिने कतिपयले आफ्नै मौलिक संस्कृतिलाई रद्दी बनाउनु अघि यो पर्व यति लामो समयसम्म रहनुको कारण खोतले सान्दर्भिक हुनेथियो ।
अबको थोरै, व्रतका कुरा । यो वैदिक संस्कृत शब्द हो । यो शब्द ऋग्वेदमा तीन हजार पटक लेखिएको छ– व्रियते इति व्रतम् । जे वरण गरिन्छ, त्यो व्रत हो । वरण अर्थात् स्वेच्छाले दृढ संकल्पको साथ कुनै उच्च उद्देश्यका लागि स्वीकारिएको अठोट । सारमा, संकल्प गर्ने संस्कार नै व्रत हो ।
अन्धानुकरणले आज हामी तीनपुस्ता समेत एउटै चुल्होमा पकाएर खान नसक्ने भइरहेका छौं । आपसी सम्बन्धमा संशय बढेको छ । विवाहको मर्म प्रेम हो तर हामी विवाहलाई शारीरिक सम्पर्कको आधिकारिक अनुमतिका रूपमा मात्रै लिएर त्यसको आत्यन्तिक पाटो ओझेल पारिरहेका छौं । जोखिमले भरिएको ‘लिभिङ टुगेदर’ संस्कृतिमा सुरक्षित ठानिरहेका छौं ।
वसुधैव कुटुम्बकम् हाम्रै पूर्वी सभ्यताले संसारलाई सिकाएको पाठ थियो । तर, आज हामी नाफा–घाटाको लेखाजोखामा स्वार्थी बनिरहेका छौं । र, यसैलाई सफल र सभ्य मानिरहेका छौं । पश्चिमा परिवार संस्कृतिको अनुकरण गर्दै जाँदा बाबुआमा वृद्धाश्रममा र छोराछोरी बालगृहमा हुने प्रवृत्ति देखिन्छ । हामी यसलाई वैयक्तिक स्वतन्त्रता ठान्छौं अनि आफ्ना संस्कृतिका मर्यादालाई पुरातन भनेर पन्छाउँछौं ।
नेपाली ‘मेकाले’
हाम्रो शिक्षा, भाषा, भेषभुषा र संस्कृतिमा कसरी वर्णसङ्कर प्रवेश ग¥यो र यसले हाम्रो सभ्यता बाँझो बनाउने यत्न गरिरहेको छ भन्ने बुझ्न अंग्रेज शासित भारत हेरे पुग्छ ।
बेलायतले संस्कृत, हिन्दी हटाएर अंग्रेजी भाषाको विकास गर्ने योजनास्वरुप सन् १८३४ मा लर्ड थमस बेबिङ्टन मेकालेलाई भारत पठाएको थियो । मेकालेले सन् १८३५ मा लण्डनमा एउटा प्रतिवेदन बुझाए, जसमा उनले लेखेका थिए– मैले भारतीयहरूलाई शरीर मात्र भारतीय, उनीहरूको दिल र दिमाग भने ब्रिटिश बनाएर आएको छु।
नेपाली मन, मस्तिष्क ‘अंग्रेजी’ बनाउन यहाँ थुप्रै ‘मेकालेहरू’ सक्रिय छन् । तर, आवरण भने अनेक छ । ती सञ्चारमाध्यममा स्तम्भकारका रूपमा पनि छन्, नीति अनुसन्धानदाताका रूपमा पनि छन्, छात्रवृत्ति, लेखनवृत्तिमा पनि लुकेका छन् । अनि यो स्वरुपमा उत्पादित विचार, भाष्य र अजेण्डा सेटिङले सञ्चारमाध्यममा मुख्य स्थान पाउँछन्।
अंग्रेजले भारत छाडेसँगै भारतमा अंग्रेजीको प्रभाव पनि उसैगरी जाला भन्ने अपेक्षा थियो । तर, भइदियो उल्टो । स्वतन्त्र भारतको सातदशक बितिसक्दा आज भारतमा अंग्रेजीको प्रभुत्व हिजोभन्दा धेरै बढी छ ।
नेपाल भारतजस्तो उपनिवेश बन्नु परेन, कुनै मेकाले पनि यहाँ आएनन् । तर, यसो भन्दैमा हाम्रो भाषा, शिक्षाप्रणाली, धर्म, संस्कृतिमा विदेशी प्रभाव परेको छैन भन्नु सरासरी झूटो दावी गर्नु हुनेछ ।
नेपाली मन, मस्तिष्क ‘अंग्रेजी’ बनाउन यहाँ थुप्रै ‘मेकालेहरू’ सक्रिय छन् । तर, आवरण भने अनेक छ । ती सञ्चारमाध्यममा स्तम्भकारका रूपमा पनि छन्, नीति अनुसन्धानदाताका रूपमा पनि छन्, छात्रवृत्ति, लेखनवृत्तिमा पनि लुकेका छन् । अनि यो स्वरुपमा उत्पादित विचार, भाष्य र अजेण्डा सेटिङले सञ्चारमाध्यममा मुख्य स्थान पाउँछन् । फेरि तिनै लेख, समाचारलाई सघाउ पुर्याउने थप सामग्रीको लहर चल्छ । लाग्छ, यो एउटा नियोजित चाल हो ।
यी कथित सभ्य, भव्य आधुनिक ठानिने ‘विचार–निर्माता’ बाट आज आमनागरिक मात्र होइन नागरिक समाज र अन्ततः राजनीति नै प्रभावित बनिसकेको छ । हाम्रो शरीर नेपाली तर मानसिकता ‘अंग्रेज’ बनाइसकेको छ । निश्चित अजेण्डासँग असहमति राख्नेहरूलाई सामाजिक सञ्जालमा कसरी हूल बाँधेर प्रहार गरिन्छ, यसबाट पनि आमसोच प्रतीत हुन्छ ।
आधुनिक, उत्तरआधुनिक बन्ने लहडमा वर्णसङ्कर बीउबाट रैथाने बाली मास्ने, नयाँ रूपका मेकालेहरूको सभ्यताको खोक्रा परिभाषाहरूमा भुलिने या पूर्वीय मौलिक संस्कृतिलाई जीवन दिंदै नेपाली पहिचान कायम राख्ने ? अन्तिम निर्णय फेरि पनि हामीले नै गर्नुछ ।