सरकारले घर बनाइदिएपछि दलित बस्तीकाे मुहार फेरीयाे
सरकारले घर बनाइदिएपछि डाेटीकाे दिपायल सिलगढी नगरपालिका ४ स्थित पिपल्ला गाउँकाे मुहार फेरीएकाे छ । जनता आवास कार्यक्रमले स्थानीय विपन्न दलित परिवारका घर बनाइदिँदा पिपल्लाका मात्रै १२ दलित घरपरिवार लाभान्वित भएका छन् ।
प्रति परिवार रु दुई लाख ३३ हजार ७०० लागतमा दुईकोठे घर निर्माण गरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दिपायल राजपुरका डिभिजन प्रमुख झप्पसिंह विश्वकर्माले बताए । “हरेक परिवारलाई दुईकोठे घर, भान्सा र शौचालय बनाएका छौँ, अहिले बस्तीको मुहार नै फेरिएको छ ”, उनले भने ।
डिभिजन कार्यालयले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डडेल्धुरा र डोटीमा रहेका दलित तथा राउटे परिवारलाई लक्षित गरी जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पहाडी जिल्लाका विपन्न तथा दलित परिवारका लागि घर निर्माण भइरहे पनि डडेल्धुरा आमपानीका राउटे र दिपायलका वादी समुदायसँग आफ्नो जमीन नभएकाले भवन निर्माण गर्न कठिनाइ भएको डिभिजन प्रमुख विश्वकर्माले बताए ।
“राउटे र वादी समुदायसँग एक टुक्रा जमीन पनि छैन, जमीन नहुँदा उनीहरु घर अनुदानबाट बन्चित भएका छन्, जग्गा हुनेको हामी घर बनाउन रकम तत्कालै दिन्छौँ ”, उनले भने ।
जनता आवास कार्यक्रमले घर निर्माण हुनथालेको भन्दै दिपायल पिपल्लाका विपन्न दलित समुदाय निकै खुशी भएको स्थानीय कृष्णबहादुर विकले बताए । “घर नभएर कहाँ बसौँ भन्ने थियो, सानो टहरोमा रात बिताउन बाध्य थियौँ, अब त हामी पनि पक्की घरमा बस्न थाल्यौँ, खुशी छौँ ”, उनले भने ।
पुराना तथा भत्किने अवस्थाका सबै घर हटाएर नयाँ तथा रङ्गीचङ्गी घरहरु निर्माण भएपछि यहाँको दलित बस्ती अहिले हेर्नलायक तथा आर्कषक भएको दिपायल गैराका स्थानीयवासी राम कामीले बताए ।
“पहिला हामीलाई आफ्नै घर देखाउन पनि लाज लागेर आउथ्यो, अहिले त नयाँ घर पाएपछि गाउँ नै रङ्गीचङ्गी भएको छ ”, उनले भने । जनता आवास कार्यक्रमले डोटी जिल्लाभरिमा सयौँ घर निर्माण गर्ने लक्ष्य लिएको बताइएको छ ।