युएईपछि बहराइन पनि इजरायलसँग कुटनीतिक सम्बन्ध राख्न सहमत
एक महीनाभित्रै दोस्रो खाडी राष्ट्र बहराइन पनि इजरायलसँग कुटनीतिक सम्बन्ध राख्न सहमत भएको छ। यसअघि अघिल्लो महीना युएईले इजरायलसँग शान्ति कायम गर्ने र कुटनीतिक सम्बन्ध राख्ने निर्णय गरेको थियो।
बहराइन र इजरायलबीच शान्ति सम्झौता हुने घोषणा भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। उनले यो विषयमा ट्विट गरेका छन्, “आज अर्को ऐतिहासिक ब्रेकथ्रु! हाम्रा दुई महान मित्र इजरायल र बहराइन अधिराज्य शान्ति सम्झौताका लागि सहमत। ३० दिनभित्रै इजरायलसँग शान्ति सम्झौता गर्नेवाला दोस्रो अरब देश।”
अमेरिका, बहराइन र इजरायलले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र बहराइनका राजा हमिद बिन इसा अल खलिफासँग शुक्रबार कुराकानी गरेपछि शान्ती सम्झौता गर्ने सहमति भएको हो। उक्त विज्ञप्तिमा भनिएको छ, “मध्यपूर्वमा शान्ती स्थापना गर्नका लागि यो ऐतिहासिक ब्रेकथ्रु हो।” अब आगामी मंगलबार (१५ सेप्टेम्बर) ह्वाइटहाउसमा हुने शान्ति सम्झौतामा बहराइन र इजरायलले हस्ताक्षर गर्ने छन्।
यसअघि गएको जनवरीमा इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व समाधानका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यपूर्व शान्ति योजना प्रस्ताव गरेका थिए। बहराइनले त्यही योजनाबमोजिम जुन २०१९ मा अमेरिकाले नेतृत्व गरेको सम्मेलन पनि आयोजना गरेको थियो।
तर, प्यालेस्टाइनी नेताहरुले उक्त सम्मेलन बहिस्कार गरेका थिए। प्यालेस्टाइनले भविष्यमा हुने सहमतिका लागि अमेरिका इमान्दार मध्यस्थकर्ता नभएको पनि जनाएका थिए।
युएई र बहराइनले इजरायलसँग गरेको सम्झौताको पनि प्यालेस्टाइनले विरोध गरेको छ। इजरायलले आफ्नो भूमिमाथि सैनिकद्वारा कब्जा जारी राखेको अवस्थामा उसँगको सम्बन्धले यथास्थिति कायम हुने खतरा भएको प्यालेस्टाइनले जनाएको छ।
सन् १९४८ मा इजरायल स्थापन हुँदा प्यालेस्टाइनी भूमि कब्जा गरेको आरोप लागेको छ। त्यसैकारण अरब देशहरुले प्यालेस्टाइनसँगको विवाद सुल्झाएपछि मात्र सम्बन्ध स्थापित गर्ने बताउँदै आएका थिए।
सन् २०१८ सम्ममा अरब लिगको सदस्य बनेका २२ राष्ट्रमध्ये बहराइन र युएईसहित अहिलेसम्म चार देशले मात्र इजरायलसँग सम्बन्ध स्थापित गरेका छन्। यसअघि इजिप्ट र जोर्डनले इजरायलसँग कुटनीतिक सम्बन्ध कायम गरेका थिए।
-एजेन्सीहरुको सहयोगमा