पर्यटन व्यवस्थापन योजनाको लागि महामारीलाई अवसर बनाउनुपर्छः मन्त्री भट्टराई
पर्यटनमन्त्री योगेश भट्टराईले कोरोनाभाइरस महामारीपछि नेपालमा पर्यटक ओइरिने भन्दै अहिलेको समयलाई अवसरका रुपमा लिएर भविष्यका लागि सही व्यवस्थापनको योजना बनाउनुपर्ने खाँचो औल्याएका छन्।
कोरोनाकै कारण घरमै थुनिएका मानिस महामारी कम हुनासाथ बाहिर निस्कने र घुम्नका लागि शान्त ठाउँ खोज्ने भएकाले नेपालमा पर्यटकको ओइरो लाग्ने सम्भावना देखिएको उनको भनाइ छ। सामुदायिक वन उपभोक्ता महासंघले गरेको सामुदायिक वनमा पर्या–पर्यटनका चुनौति, उपलब्धी र संभावना विषयक अनलाइन अन्तरक्रियमा उनले पर्यापर्यटनको मुख्य आधार प्रकृति र संस्कृति भएको भन्दै नेपालमा त्यसको संभावना राम्रो भएको उल्लेख गरे।
पर्यापर्यटनका रुपमा सामुदायिक वनहरु महत्वपूर्ण हुने र त्यसबाट समुदायले समेत लाभ लिन पाउँने उनले बताए। स्थानीय र प्रदेश सरकारसंग साझेदारी गरि प्रतिफलमा पनि हिस्सेदार बन्न सामुदायिक वन र त्यसको छाता संगठन महासंघलाई मन्त्री भट्टराईले आग्रह गरे।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालकी अध्यक्ष भारती पाठकले सामुदायिक वनको जनशक्तिलाई समुदायको हितमा हुने गरि सरकारले आर्थिक स्रोतलाइ प्रभावकारी ढंगले परिचालन गर्न सके आर्थिक सम्वृद्धिमा टेवा पुग्ने बताइन्। कार्यक्रममा ३२ जिल्लाका ३४ वटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, महासंघका जिल्ला अध्यक्ष, सातै प्रदेश महासंघका अध्यक्ष, महासंघका पदाधिकारी गरी ९० जनाको सहभागिता थियो।