भरतपुर अस्पतालमा मृत्यु भएका एक जनामा कोरोना पुष्टि
चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका एक जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। उक्त अस्पतालमा बिहीबार र शुक्रबार मृत्यु भएका तीन जनाको स्वाब परीक्षण गर्दा एक जनालाई संक्रमण पुष्टि भएको हो।
मृत्युपछि कोरोना सङ्क्रमण भएको पुष्टि हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष छन्। बिहिबार राती अस्पतालको आकस्मिक कक्षमा ल्याएको केही समयपछि नै उनको मृत्यु भएको थियो।
अन्य दुई जनाको भने नतिजा नेगेटिभ आएको छ। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार शुक्रबार बिहान मृत्यु भएकी राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको छ। उनको पनि उपचारका लागि अस्पताल आईपुग्दा मृत्यु भएको थियो।
त्यस्तै बिहीबार दिउँसो अस्पतालको सघन उपचार कक्षमा खैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको थियो। उनको पनि नतिजा नेगेटिभ आएको छ।
उनीहरु तीनै जनालाई ज्वरो, खोकी सहित श्वासप्रश्वासमा समस्या देखिएको थियो। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षणका लागि पठाइएको थियो।
यसअघि अस्पतालको आकस्मिक कक्षमा उपचारकै क्रममा १४ भदौमा एकैदिन तीन जनाको मृत्यु भएको थियो। उनीहरुको कोरोना परीक्षण गर्दा तीनै जनाको नतिजा पोजेटिभ आएको थियो।