मनमौजी सपनाहरूको दस्तावेज
डुलुवाहरूको पैतालामा चक्र हुने कुरा जस्तै डुमेरो तिनै चक्रधारीहरूको स्वच्छन्द अभिव्यक्ति र व्यवहारको निस्फिक्री वर्णन हो। प्रेम केवल प्रेम मात्रै हो जसलाई नियन्त्रण गर्नुहुँदैन भन्ने नव पिंढीको उदार आवाजको ‘सिम्फोनी’ हो।
नौला शब्द, अनौठा नाम र नवीनतम शैलीका काम सुन्दा, पढ्दा, देख्दा आँखाहरू अनायासै लोभिन्छन्। डुमेरो शब्दमा परेका आँखा पनि यसैगरी लोभिए। डुमेरो पुस्तक पढेको थिइनँ तर अर्थ जान्ने हुटहुटी कम भएन।
कसलाई सोध्नु डुमेरो भनेको के हो भनेर ? हालसालै मोबाइल एपमा पनि उपलब्ध नेपाली बृहत् शब्दकोश मा हेरें। डुमेरो त्यहाँ पनि भेटिएन।
काठमाडौं उपत्यकामा प्रायः म कहिले चक्रपथको फन्को लगाउँछु, कहिले काँठका फाँटको धूलो सुँघ्दै साइकल खियाउँछु। वागमती, विष्णुमती, धोबीखोला र नक्खु किनारमा भर्खरै बन्न थालेका चिल्ला र धुलाम्य दुवैखाले लिंकरोडमा बरालिने मेरो साइकलका निर्जीव पाङ्ग्राहरूलाई कसरी महसूस हुनसक्ला र डुमेरोको अर्थ। अहँ, कसैगरी थाहा थिएन।
‘लक्डाउन’ले मेरो दैनिकी घर–अफिसमा सीमित थियो।
तर शनिबार भयो कि, थोरै फुर्सद भयो कि, कसैले हिंडौं कि भनेर उक्सायो कि पैताला चिलाउन थालिहाल्छन्। पैताला चिलायो कि म आमा सम्झन पुग्छु। आरामले खुरुक्क घरै नबसी लखरलखर हिंडेर आफ्नो ज्यानलाई कति दुःख दिन मन लाग्दो हो भन्ने श्रीमतीलाई पुलुक्क हेर्छु। हड्डी खिइन थाल्यो, ‘लिगामेन्ट’ च्यातिएको छ, उकाली ओराली नहिंड्नु, साइकल त चलाउँदै नचलाउनु भन्ने डाक्टरको सल्लाह कानमा गुञ्जिन्छ।
सुनेको, पैतालामा चक्र हुनेहरूलाई यस्तो हुन्छ रे ! मेरो पैतालामा पनि चक्र छ/छैन थाहा छैन। न त हिंड्न नै छोडेको छु।
त्यस दिन पनि पैताला चिलाइरहेका थिए। सुत्ने तरखरमा थिएँ। एक मित्रको सन्देश आयो– ‘भोलि साइकलमा पहाड चढौं।’ मित्रले प्रस्ताव गरेको पहाडी भञ्ज्याङमा म पहिल्यै हाइकिङ गर्दै पुगेको थिएँ। साइकलमा त्यहाँ पुग्ने रहर सुषुप्त थियो।
निषेधाज्ञाकै बीच कान्ति राजपथ हुँदै हामी तीन जना तीनपाने भञ्ज्याङ उक्लेर साइकलमा भट्टेडाँडा पुग्यौं। मनमा भने उही प्रश्न मडारिइरहेको थियो आखिर के हो यो डुमेरो ?
फर्कंदा तीनपाने भञ्ज्याङमा सुस्ताइरहेको बेला एक सहयात्रीलाई सोधें– ‘यो डुमेरो भनेको के हो ?’ उत्तर सुनेपछि मुखबाट एऽऽ हो र भन्ने भन्दा बढी शब्द निस्केन।
जसै डुमेरोको अर्थ थाहा भयो, मन सिनेमाको रिल झैं फनफनी घुम्न थाल्यो। रिल रिवाइन्ड भएर यति छिटो घुम्न थाल्यो कि छिनमै ताप्लेजुङको पाथीभरा, बैतडीको झुलाघाट, कञ्चनपुरको दोधारा, चाँदनी र टनकपुर, मुस्ताङको मुक्तिनाथ, मुगुको रारा, सोलुको पिके र पताले, भोजपुरको ट्याम्के लगायत ७२ जिल्लाका मैदान, फाँट, पाटन, भञ्ज्याङ, थुम्का र वस्तीहरूमा पुग्यो। कहिले उद्देश्य त कहिले निरुद्देश्य डुलाइसँग सँगालेका अनुभूतिहरूले मन भरियो। सुस्ताएको आफूभित्रको डुमेरो अचानक ब्युँझियो।
डुमेरो अर्थात् डुलुवा। मजस्तै डुलुवा !
डुमेरोको अर्थ थाहा पाउनु मेरा लागि जिज्ञासा मेट्ने साध्य मात्र थिएन, बाध्यता पनि थियो। डुमेरो पढेर समीक्षा लेख्न सम्पादकको निर्देशन थियो। किताबको नाम नै नबुझिकन समीक्षा लेख्नु असम्भव थियो। तर, किताबको नामको अर्थ बुझ्दैमा समीक्षा गर्नु सजिलो पनि थिएन।
नभन्दै डुमेरो पढिसिध्याएँ।
एक मनले भन्यो– होस् लेख्दिनँ समीक्षा ! लेखक पनि त चिनेको छैन ! आक्कलझुक्कल पत्रपत्रिकामा लेखकका लेखहरू पढेको छु। कतैबाट बतासिएर टिएलमा आइपुगेका उनका ट्वीटहरू पनि देखेको छु। बस् यत्ति हो।
यसै पनि हिजोआज सामाजिक सञ्जाल सिन्डिकेटको दलदलमा छ। सिन्डिकेट समस्या नझेलेको कुनै क्षेत्र छैन। साहित्य त झनै। त्यसैले नचिनेका लेखकको पुस्तक समीक्षा गरेर किन टाउको दुखाउनु ? किन लेखकलाई फुर्काउनु ? किन आलोचना गरेर शत्रुता मोल्नु ?
...
एकजना महत्वाकांक्षाको सगरमाथा बोकेकी केटी छ। शुरूमा ऊ रेडियो पत्रकार बन्छे। रेडियोमा स्थापित भइनसक्दै टिभी एङ्कर बन्छे। टिभीमा काम गर्दागर्दै टेलिचलचित्र खेल्न थाल्छे। अभिनयको क, ख पनि नसिकी खेलेको त्यही सिनेमाबाट राष्ट्रियस्तरको पुरस्कार पाउँछे।
पात्रको एउटा सपनाको हत्या हुन्छ, लगत्तै अर्को सपना जन्माइन्छ। र, यो यति जबर्जस्ती र महत्वाकांक्षी लाग्छ कि पात्र सपनाको भार बोकाउन नै स्थापित गरिएको छ। नयाँ नयाँ पात्र प्रवेश गर्छन् अनि आफूलाई स्थापित नगरी हराउँछन्।
सानो ठाउँमा मन फुकाएर उड्न खोज्दा पखेटा ठोक्किन सक्छन्। डुमेरोकी मुख्य पात्र सिमरन पनि पखेटा फिजाएर उड्ने ठूलो र खुला ठाउँको खोजीमा काठमाडौं आइपुग्छे। काठमाडौंमा चाँडै नै ऊ चर्चित अभिनेत्री बन्छे। समय यति छिटोछिटो दौडिन्छ कि ऊ हिरोइन नभएका सिनेमा नै बन्दैनन् कि जस्तो हुन्छ। सबैजसो चर्चित नायकहरूसँग उसले अभिनय गर्छे।
सिमरन खेल्ने सिनेमामा निर्देशक, निर्माताको हैन उनको मर्जी चल्छ। आफूमा घमण्डको पहाड चुलिएको उसले पत्तै पाउँदिनँ। अनि जसरी ऊ उडेकी थिई, त्यसरी नै पछारिन्छे। भासिएको जमीनमा टेकेर फेरि उठ्नै नसक्ने गरी। यसो हुनुमा कारक ऊ आफैं हुन्छे। तर हिम्मत भने हार्दिनँ।
विदेशी बुवाआमाका धनी दुई युवासँग एकसाथ प्रेमिका बन्छे। कलाकार भएको फाइदा उठाउँदै विदेश घुम्छे, कमाउँछे। शहरमा फ्ल्याट किन्छे, आफैं सिनेमा बनाउँछे र संसारप्रसिद्ध कान्स फेस्टिभलमा आफ्नो सिनेमा पुर्याउँछे।
डुमेरो को भावभूमि यही हो।
३२६ पृष्ठको यो पुस्तक पढिरहँदा पत्याउनै नसकिने दृश्यहरूले भरिभराऊ कतिपय प्रसंग दक्षिण भारतीय सिनेमाका जस्तै लाग्छ। पुस्तकमा प्रेम, घृणा र पात्रको मृत्युका अस्वाभाविक प्रसंगहरूको बग्रेल्ती भेटिन्छन्।
पात्रको एउटा सपनाको हत्या हुन्छ, लगत्तै अर्को सपना जन्माइन्छ। र, यो यति जबर्जस्ती र महत्वाकांक्षी लाग्छ कि पात्र सपनाको भार बोकाउन नै स्थापित गरिएको छ। नयाँ नयाँ पात्र प्रवेश गर्छन् अनि आफूलाई स्थापित नगरी हराउँछन्। पुस्तकको विषयवस्तु र नामबीच पनि तादाम्य मिल्दैन।
यस्तैयस्तै सोचले मन भरिएर आयो। अनि त्यो एकमनको निर्णय गरे– भो समीक्षा गर्दिनँ। सम्पादकलाई भन्दिन्छु– लेख्न भ्याइनँ।
सुत्न लाग्दा रातको सवा बाह्र बजेको थियो। ओछ्यान परे नि निद्रा लागेन। मनमा एक किसिमको बेचैनी देखियो। पुस्तक बारे नलेखेर कतै मैले बेठीक त गरिरहेको छैन ? डुमेरो मा नयाँपन र तारिफयोग्य कुरै छैनन् त ? कथानक निम्नस्तरको घिसिपिटी नै छ त ? लेखक नचिन्दैमा पुस्तकको चर्चा नगर्नु सिन्डिकेटकै पक्षपोषण नभएर के हो त ?
किन तारिफ नगर्ने पुस्तकलाई जसले डुमेरो मार्फत नेपाली सिने क्षेत्रको एउटा कुरुप पाटो उदांगो पारिदिएको छ। सस्ता सिनेमाका लेखक, निर्माता र निर्देशकहरूलाई प्रश्नहरूको कठघरामा उभ्याइदिएको छ। बिकाउ सिनेमा र कला नबुझ्ने कलाकारको धज्जी उडाएको छ। घिसिपिटी कथाहरूमा सिनेमा बनाउने र रमाउने विरुद्ध औंला ठड्याएको छ। सिने पत्रकारिताको ‘स्टेरियोटाइप’ रिपोर्टिङलाई चुनौती दिएको छ।
फरक धार र मौलिक सिनेमाको खोजीमा डुमेरो लाउने कलाकार सधैं सस्ता र घिसिपिटी कथाको चंगुलमा कसरी फस्छन् र पछुताउँछन् भन्ने आम नेपाली सिने क्षेत्रको प्रतिनिधि कथा पनि हो– डुमेरो ।
डुमेरो ले उठाएका प्रश्नहरूको उत्तर खाजियो भने हाम्रो समग्र सिने क्षेत्रको स्तरोन्नति हुनेछ। ती चुनौतीहरूलाई मनन गर्न सकियो भने हामीकहाँ मौलिक सिनेमा बन्छन्। बनेका सिनेमाले दर्शक पाउँछन्। बनाउनेले सम्मान पाउँछन्।
डुमेरो को कथा गहन रूपमा लिन सके सिनेपत्रकारिता वस्तुनिष्ठ र यथार्थपरक हुनेछ। परिणाम, कलाकार मनोसामाजिक पीडाबाट गुज्रँदै आत्महत्या गर्नेसम्मको अवस्था आउन्न। सञ्चारमाध्यममा कलाकारको अनुहार र जीउडालको हैन कामको चर्चा हुन थाल्छ।
डुमेरो महत्वाकांक्षी युवाहरूको मनमौजी सपनाहरूको दस्तावेज हो। डुलुवाहरूको पैतालामा चक्र हुने कुरा जस्तै डुमेरो तिनै चक्रधारीहरूको स्वच्छन्द अभिव्यक्ति र व्यवहारको निस्फिक्री वर्णन हो। प्रेम केवल प्रेम मात्रै हो जसलाई नियन्त्रण गर्नुहुँदैन भन्ने नव पिंढीको उदार आवाजको ‘सिम्फोनी’ हो।
यस अर्थमा डुमेरो विशेषगरी सिनेमा र पत्रकारितालाई पेशा बनाएका वा बनाउन लागेका वा यो क्षेत्रमा रुचि हुने जोसुकैले पढ्नै पर्ने पुस्तक हो। आम पाठकका लागि पुस्तकको प्रस्तुति मीठो छ। पात्र, परिवेश, भोगाइ र अनुभूतिका कारण डुमेरो पढिसकेपछि पछुतो हुन्न।
डुमेरो महत्वाकांक्षी युवाहरूको मनमौजी सपनाहरूको दस्तावेज हो। डुलुवाहरूको पैतालामा चक्र हुने कुरा जस्तै डुमेरो तिनै चक्रधारीहरूको स्वच्छन्द अभिव्यक्ति र व्यवहारको निस्फिक्री वर्णन हो। प्रेम केवल प्रेम मात्रै हो जसलाई नियन्त्रण गर्नुहुँदैन भन्ने नव पिंढीको उदार आवाजको ‘सिम्फोनी’ हो।
यति बलियो कृतिबारे केही नलेख्नु कृति प्रति त हो नै, उपन्यासकार सरला गौतमप्रति पनि अन्याय हो। न्याय पाउन लायक पुस्तकलाई अन्याय गरेपछि भोलि सम्पादकलाई कसरी मुख देखाउनु ?
...
ओछ्यानबाट उठें। ल्यापटप खोलें। डुमेरो बारे आफ्नै शैलीमा यति कुरा लेखें र सम्पादकलाई यस्तो इमेल गरे– ‘दाइ, नमस्कार। मलाई डुमेरो समीक्षा गर्न लाएर फसाउनुभयो। तपाईको भनाई टार्न सकिनँ। तर नजानेको काममा हात हाल्नु नहुने रहेछ। मैले जे लेखें त्यो न समीक्षा भयो न त निबन्ध नै। जे लेखें पठाएको छु। आगे तपाईको मर्जी।’