कोरोना अपडेट: वागमती प्रदेशमा सक्रिय संक्रमितसँगै सिकिस्त बिरामीको संख्या पनि धेरै
नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेसँगे गम्भीर बिरामीको संख्यामा पनि वृद्धि भइरहेको देखिएको छ। त्यसमध्ये पनि वागमती प्रदेशमा त्यस्ता गम्भीर प्रकृतिका बिरामी अन्य प्रदेशको तुलनामा धेरै रहेका छन्।
हाल मुलुकमा रहेका सक्रिय संक्रमित १४९२५ जनामध्ये १९५ जना कोरोना संक्रमित सिकिस्त अवस्थाका छन्। ती सिकिस्त बिरामीमध्ये आईसीयूमा १७० जना र भेन्टिलेटरमा २५ जना बिरामीको उपचार भइरहेको छ।
आईसीयूमा उपचार भइरहेका सिकिस्त संक्रमितको संख्या सबैभन्दा धेरै वागमती प्रदेशमा १०७ जना छन्। यस्तै, वागमति प्रदेशमै २२ जना कोरोनाका सिकिस्त संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
हालसम्म कुल ५१९१९ जनामा कोरोना संक्रमण देखिएको छ भने यीमध्ये सक्रिय संक्रमितको संख्या १४९२५ छ। तीमध्ये ३२२ जनाको मृत्यु भएको छ। कोरोना संक्रमण मुक्त हुनेको संख्या ३६६७२ छ।
सिकिस्त संक्रमितमध्ये प्रदेश–२ मा २४ जना, प्रदेश–५ मा २२ जना, कर्णाली प्रदेशमा ६ जना, प्रदेश–१ मा ५ जना, गण्डकी प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा १ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ।
भेन्टिलेटरमा सुदूरपश्चिम प्रदेशमा १ जना र गण्डकी प्रदेशमा २ जना कोरोनाका सिकिस्त बिरामीको उपचार भइरहेको छ।
संक्रमित पनि बढ्दै
कोरोनाका सिकिस्त बिरामी धेरै भएको वागमती प्रदेशमा कोरोना संक्रमणको दर पनि बढ्दो छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा वागमती प्रदेशमा मात्र ८४४ संक्रमित थपिएका छन्। यीमध्ये काठमाडौंमा मात्र ६२० जना संक्रमित थपिएका छन्।
वागमती मात्रै एउटा प्रदेश हो, जहाँ कोरोनाबाट निको हुने भन्दा सक्रिय संक्रमितको संख्या धेरै छ। वागमती प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७३११ र निको भएका व्यक्तिको संख्या ६५३५ छ।
सक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारी मन्त्रालयको पछिल्लो तथ्यांकमा बढी जनघनत्व भएका काठमाडौं जस्ता ठाउँमा कोरोना संक्रमण छिटो धेरै व्यक्तिमा फैलिएको देखिएको बताउँछन्।
डा. अधिकारीले स्वास्थ्यका मापदण्ड पालना नगर्ने हो भने बढी जनघनत्व भएका र भीडभाड हुने ठाउँमा भाइरस छिट्टै फैलने गरेको बताए। उनी यस्ता ठाउँमा सरकारले कट्याक्ट ट्रेसिङलाई प्रभावकारि बनाउनुपर्ने बताउँछन्।
“बढी जनघनत्व भएका ठाउँमा छिटो संक्रमित पत्ता लगाउन कट्याक्ट ट्रेसिङका लागि एप जस्तै सूचना प्रविधिलाई प्रयोग गर्न सकिन्छ”, उनी भन्छन्, “तर सरकारले अहिलेसम्म एपको प्रयोग गरेर कट्याक्ट ट्रेसिङको काम गर्न सकेको देखिनएन।”
उनी कोरोनाका सिकिस्त बिरामीहरूको संख्या बढेको ठाउँमा उपचारका लागि आईसीयूसहितको पूर्वाधारयुक्त अस्पताल र छुट्टै कोरोना विशेष अस्पतालको व्यवस्थापन गर्नुपर्ने बताउँछन्।