सशस्त्र प्रहरी अस्पतालमा कोरोना रोकथामका लागि जनशक्ति अपुग रहेको संसदीय उपसमितिको निष्कर्ष
कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारबाहीबारे अनुगमन गर्न गठित संसदीय उपसमितिले आज सशस्त्र प्रहरी अस्पताल, बलम्बु र मनमोहन मेमोरियल अस्पताल आइसोलेसन, दहचोकको अनुगमन गरेको छ।
विभिन्न अस्पतालहरूको अनुगमन गर्ने उपसमितिले आज पहिलो अनुगमनका लागि सशस्त्र प्रहरी अस्पताल बलम्बुको अनुगमन गरेको थियो। त्यस क्रममा स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति अभाव रहेको निष्कर्ष उपसमितिले निकालेको छ।
उपसमितिका संयोजक जीवनराम श्रेष्ठले कोभिड अस्पताललाई थप व्यवस्थापन गर्न निर्देशन दिँदै अस्पतालमा स्वास्थ्यकर्मी लगायतका जनशक्ति कम भएकाले जनशक्ति व्यवस्थापनका लागि सरकारसँग पहल गर्दिने आश्वासन दिए।
प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिले कोभिड १९ बारे सरकारले गरेका नीतिगत तथा अन्य सबै खाले व्यवस्थापनबारे अध्ययन, अनुगमन गर्न समिति सदस्य श्रेष्ठको संयोजकत्वमा गठन गरेको थियो।
आजै उपसमितिले निजी क्षेत्रको मनमोहन मेमोरियल अस्पताल, दहचोकमा संचालनमा रहेको आइसोलेसन केन्द्र अनुगमन गर्दै केही कमी कमजोरी रहेको भन्दै तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको छ।
उपसमितिले यसअघि हिजो केन्द्रीय प्रयोगशाला, टेकु तथा भक्तपुरका अस्पताल र आइसोलेसन सेन्टरहरूको अनुगमन गरेको थियो।
कतिपय आइसोलेसन सेन्टरमा बस्नेहरूले सरकारले प्रतिव्यक्तिलाई उपलब्ध गराउने रकम पनि कम भएको गुनासो आएको संसदीय उपसमितिले जनाएको छ।