देशका दुई वटा वडामा छैनन् एउटै व्यवसाय, काठमाडौंमा सबैभन्दा धेरै
देशभित्र एउटा पनि व्यवसाय नभएका गाउँ पनि होलान्? भर्खरै सार्वजनिक आर्थिक गणनाले देखाउँछ, देशका दुई वटा वडामा एउटा पनि व्यवसाय सञ्चालनमा छैनन्। यी दुबै कर्णाली प्रदेश अन्तर्गतका हुन्।
केन्द्रीय तथ्यांक विभागले गरेको आर्थिक गणना अनुसार, डोल्पाको मुड्केचुला गाउँपालिकाको वडा नम्बर ४ र छर्का ताङसोङ् गाउँपालिकाको वडा नम्बर ३ मा एउटै पनि व्यवसाय सञ्चालनमा छैनन्। ग्रामीण कृषि र पशुपालनमा आधारित यी वडामा कुनै व्यवसायिक क्रियाकलाप सञ्चालन नभएको गणनाले देखाएको हो।
आर्थिक गणनाले कर्णाली प्रदेशका २१ वटा वडामा ५ वा सोभन्दा कम मात्रै व्यवसाय सञ्चालनमा भएको देखाएको छ। त्यस्तै, प्रदेश २ अन्तर्गतका तीन वटा वडामा पनि ५ वा सोभन्दा कम मात्रै व्यवसाय सञ्चालनमा छन्।
गणनाका अनुसार, देशभरिका सबैभन्दा धेरै व्यवसाय काठमाडौं महानगरपालिको वडा नम्बर १६ मा छन्। यो वडामा ६ हजार ६२३ वटा व्यवसाय सञ्चालनमा छन्। काठमाडौंको क्षेत्रपाटी, बालाजु लगायतका क्षेत्र पर्ने यो वडा महानगरका वडामध्ये सबैभन्दा ठूलो पनि हो। काठमाडौंकै वडा नम्बर १४ मा ५ हजार २०८ र वडा नम्बर ३२ मा ५ हजार २२९ व्यवसाय सञ्चालित छन्।
आर्थिक गणनाले देशमा ९ लाख २३ हजार ३५६ वटा व्यवसाय सञ्चालनमा रहेको देखाएको थियो। यसमध्ये करिब आधा दर्ता भएर र आधा बिना दर्ता सञ्चालनमा छन्। सबैभन्दा धेरै बागमती प्रदेशमा २ लाख ८२ हजार ९२० वटा व्यवसाय सञ्चालनमा रहेको देखाएको थियो।
देशभित्रका व्यवसायमा करिब ३२ लाख जनशक्ति संलग्न रहेको आर्थिक गणनाले देखाएको थियो।