फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासनलाई महानगरको ध्यानाकर्षण
काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापार प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ।कामपाका उपप्रमुख हरिप्रभा खड्गीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी सो ध्यानाकर्षण गराएकी हुन्।
काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यही २४ भदौमा जारी गरेको आदेशको सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसल, इलेक्ट्रिक र इलेक्टोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ भनिएको छ।
यस बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनःआदेश जारी गर्न ध्यानाकर्षण गराइएको हो। यस क्रममा उपप्रमुख खड्गीले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेको र अहिलेको आदेश महानगरको यो नीति विपरीत बताइन्।
“अर्कोतिर शहरमा सङ्क्रमण फैलिँदो दरमा छ, यसै पनि कन्ट््याक्ट टे«सिङ जटिल छ, यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने माहामारी नियन्त्रणबाहिर जान सक्छ”, उनले भनिन्।
ध्यानाकर्षण पत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले माहामारीका समयमा यस पेशामा बसेर काम गर्ने मानिसलाई परेको समस्या खुकुलो बनाउन खोजिएको बताए।