संशोधन र परिमार्जनपछि मात्र एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहायताको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ। नेकपाको शुक्रबार सम्पन्न स्थायी कमिटीको बैठकले यो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर संसोधनको निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताएका छन्। एमसीसी कम्प्याक्टका कुन–कुन बुँदा संशोधन र परिमार्जन गर्ने भन्ने विषयमा कार्यदलले प्रष्ट उल्लेख गरेको पनि उनले बताए।
अमेरिकी सरकारी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज सम्झौता हाल संसदमा अनुमोदनको लागि विचाराधीन छ। नेपालको विद्युत् प्रसारण लाइन र सडक सुधारका लागि एमसीसीले पाँच सय मिलियन अमेरिकी डलर अर्थात् झण्डै ५५ अर्ब रुपियाँ सहयोग गर्न लागेको हो। तर, यसको सम्झौतामा उल्लेख गरिएका कतिपय बुँदाहरु विवादित रहेको भनी कतिपयले विरोध गर्दै आएका छन्।
सत्तारुढ नेकपाभित्रै पनि यो विषय पेचिलो बनेपछि गत केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेर प्रतिवेदन तयार गरेको थियो। यो प्रतिवेदनले राष्ट्रहितका पक्षमा प्रष्ट पार्नुपर्ने भन्दै एमसीसी कम्प्याक्टमा रहेका विभिन्न बुँदा संसोधन गर्नुपर्ने औंल्याएको थियो।
नेकपा स्थायी कमिटीले कम्प्याक्ट संसोधनपछि अनुमोदन गर्ने भनेपनि अमेरिकाले उक्त कम्प्याक्टमा गरिने संसोधनलाई स्वीकार गर्छ वा गर्दैन भन्ने प्रष्ट छैन। यसअघि, पटक–पटक अमेरिकी अधिकारीहरुले नेपाललाई सहायता आवश्यक हो वा होइन् भन्ने निक्र्यौल गर्न भन्दै आएका छन्।