काठमाडौंका सांसदद्वारा सभामुखसँग भेट, विशेष संसदीय समिति बनाउन आग्रह
कोभिड-१९ का कारण बहुआयामिक क्षेत्रमा परेको असरको अध्ययन र अनुगमनका लागि विशेष संसदीय समिति गठन गर्न आग्रह गर्दै सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन्। आज दिउँसो सभामुखलाई भेटेर लिखित ध्यानाकर्षण पत्रससिहत काठमाडौंका २० सांसदले कोरोना भाइरसका कारण स्वास्थ्य, शिक्षा, श्रम, उद्योग, रोजगारीलगायत सबै क्षेत्रको अवस्थाका बारेमा अध्ययन, अनुगमन गरी सरकारलाई सुझाव दिन समितिको आवश्यकता रहेको बताए।
सभामुखसँगको भेटमा गएकी राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले कोरोनाको कारण परेको बहुआयामिक असरको अध्ययन कुनै एउटा वा दुईवटा विषयगत समितिले मात्रै गर्न सम्भव नभएकाले यस किसिमको समिति बनाउन आग्रह गरेको बताइन्। २०७२ सालको भूकम्पको बेलामा पनि विशेष समितिले काम गरेको भन्दै यो ठूलो महामारीका बेलामा पनि जनप्रतिनिधि सांसदहरू त्यत्तिकै बस्न नहुने भएकाले समिति आवश्यक रहेको उनको भनाइ छ।
भेटमा सभामुख सापकोटाले राम्रो सुझाव र पहल गरेको भन्दै आजैदेखि आफूले प्रधानमन्त्री, प्रतिपक्ष दल र कार्यव्यवस्था परामर्श समितिसँग छलफल गर्ने बताएका छन्। सभामुखको भनाइ उदृत गर्दै सभापति श्रेष्ठले भनिन्, “उहाँले सकारात्मक पहल गरेको भन्दै संसद नचलेको अवस्थामा कसरी त्यस्तो समिति बनाउन मिल्छ, संसदमा प्रतिनिधित्व गर्ने दल, संसद सचिवालयसँग समेत छलफल गर्ने बताउनुभएको छ।”
काठमाडौं जिल्लाबाट प्रतिनिधि सभामा सदस्य रहेका २० सांसदहरूले यस किसिमको समिति बनाउन पहल गरेका हुन्। यसअघि उनीहरूले कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेललाई पनि भेटेर ध्यानाकर्षण गराएका थिए।
काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमण रोकथाम र यसबाट विपन्न, श्रमिक मजदुरहरूलाई दैनिक परिरहेको समस्या समाधानका बारेमा पनि उपत्यकाका सांसदहरूले छलफल गरेका थिए।