नेत्रविक्रम चन्दका दाइलाई हिरासतमुक्त गर्न सर्वोच्चको आदेश
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्यसमेत रहेका चन्दका दाइ चन्द्रबहादुरलाई हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीशहरू हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको इजलासले चन्द्रबहादुर चन्दका तर्फबाट परेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै उनलाई हिरासतमुक्त गर्न आदेश दिएको हो।
३० असोज २०७६ मा दाङबाट पक्राउ परेका चन्दलाई जिल्ला अदालत दाङमै मुद्दा चलाइएको थियो। अदाललते ७ पुसमा रू. १५ हजार धरौटीमा छाड्न आदेश दिएकोमा धरौटी बुझाएलगत्तै उनलाई दाङबाट पक्राउ गरेर काभ्रेपलान्चोक पठाइएको थियो। काभ्रेमा आगो लगाएको तथा विष्फोटक पदार्थसम्बन्धी संगठित अपराधमा मुद्दा चलाइएको थियो। तर, जिल्ला अदालतले १५ साउन २०७७ मा साधारण तारेखमा छाड्न आदेश दिएको थियो।
काभ्रेमा मुक्त गरेलगत्तै पक्राउ गरेर प्रहरीले उनलाई भोजपुर पठाएको थियो। भोजपुर जिल्ला अदालतमा पनि चन्दलाई संगठित अपराधमा मुद्दा चलाइएको थियो। त्यसैबीचमा चन्दका तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको थियो। २५ साउनमा सर्वोच्च अदालतले चन्दलाई मुक्त गर्न प्रहरीलाई आदेश दिएको थियो। तर, हिरासतमुक्त गरेलगत्तै पुन: पक्राउ गरेर प्रहरीले उनलाई संखुवासभा जिल्ला पठाएको थियो। त्यहाँ उनलाई हातहतियार तथा खरखजाना मुद्दा लगाइयो।
फेरी चन्दका तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन पर्यो। त्यही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आज उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
चन्दलाई प्रवृत्त भावनाबाट पटक-पटक थुनामा राख्ने कार्य गरेको देखिएको र त्यस्तो थुना गैरकानूनी भएको भन्दै सर्वोच्च अदालतले आज बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो। सर्वोच्च अदालतले चन्दलाई संखुवासभा जिल्ला अदालतको न्यायाधीशको रोहवरमा थुनामुक्त गर्न आदेश दिएको छ।