रोकिएन निजामती अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन
काठमाडौंको बानेश्वरस्थित् निजामती कर्मचारी अस्पतालका स्वास्थ्यकर्मीहरूको आन्दोलन अझै रोकिएको छैन। सरकारी कर्मचारी सरहको सेवासुविधा उपलब्ध नभएको भन्दै आन्दोलित छन्।
सरकारद्वारा सञ्चालित सरकारकै निकायको रूपमा स्थापित अस्पतालका अधिकांश कर्मचारी करारमा रहेको र सेवा सुविधा पनि लामो समयदेखि न्यून रहेको भन्दै स्वास्थ्यकर्मी र कर्मचारीहरूले दैनिक विरोध प्रदर्शन गर्दै आएका छन्।
निजामती कर्मचारी अस्पताल विकास समितिको अध्यक्ष बहालवाला मुख्यसचिव र सञ्चालकहरूमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव रहने व्यवस्था छ।
स्वास्थ्यकर्मीहरूले सरकारको उच्च पदस्थ व्यक्तिहरू सञ्चालक रहने अस्पतालका कर्मचारीहरूले सरकारी सेवा सुविधा नपाउने अवस्था रहनु न्यायोचित नभएको बताउँदै आएका छन्।