काठमाडौंमा खाली हुँदै भाडाका कोठा, तनावमा घरधनीहरू
केही महिनासम्म कोठा पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल देखिएको छ।
डेरामा बस्न होस् वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने काठमाडौंमा अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरू जताततै देख्न पाइन्छ। कोरोना संक्रमणका कारण ४ महीना लामो बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरू खाली भएका हुन्।
कोरोनाले व्यापार व्यवसाय धरासायी बन्न थालेपछि सटरहरू खाली हुन थालेका छन् भने अध्ययनका लागि उपत्यका आएका विद्यार्थी एवं अन्य कामले यहाँ रहेका नागरिकहरू गाउँ फर्किएपछि अहिले कोठा र फ्ल्याटहरू खाली भएका हुन्।
यहीँ भएकाहरू पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ। यति मात्रै होइन काठमाडौंको बसाई टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढी छ। होटल, रेष्टुरेण्ट, होस्टलदेखि अधिकांश व्यबसाय गर्ने व्यबसायीले ब्यवसाय नै बन्द गरेर घर खालि गराएका छन्। कति कोठा खाली भए भन्ने आधिकारिक तथ्याङ्क नभएपनि अधिकांश घरमा कोठा खाली देखिन्छन्।
काठमाडौं अनामनगरका एक घरधनी हरिप्रसाद पराजुली उपत्यका भरी नै एकनासको समस्या रहेको बताउँछन्। अनामनगर क्षेत्रमा मात्रै नभएर उपत्यका भरी नै सटर र फ्ल्याटहरू ठूलो संख्यामा खाली भएको उनको भनाइ छ।
कोरोना नियन्त्रणमा आएपछि बाहिरबाट आउने क्रम शुरु नहुँदासम्म यहाँका घरधनीहरूले ठूलो समस्या भोग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले बन्दाबन्दी र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताए। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कोरोनासँगै लड्दै अगाडी बढ्ने प्रयत्न गर्नुपर्ने उनले बताए।
अहिले काठमाडौँका जुनसुकै स्थानमा पुगे पनि घर खाली रहेको सूचनाहरू टाँसेको देख्न सकिन्छ। पछिल्ला वर्षहरूमा फ्ल्याट नै भाडामा दिने प्रचलनले भाडामा बस्नेहरू पीडित बनिरहेका थिए।
कहिले कोठा खोज्ने दलालको फन्दामा सर्वसाधारण पर्दै आएका थिए त कहिले घरबेटी नै अनावश्यक रुपमा भाडा असुल्दै आएका थिए। तर अहिले अवस्था फेरिएको छ।
डेरवालहरूले छानीछानी सस्तोमा कोठा लिन पाउँछन्। भाडामा बस्नेहरूको संख्या घट्दै गएपछि ऋण काढेर घर बनाएकाहरूलाई भने समस्या देखिएको छ।
कोठाभाडा नै आम्दानीको स्रोत भएका घरधनीहरूलाई बैंकको किस्ता तिर्न र दैनिक गुजारा गर्न समेत समस्या देखिएको छ।