अमेरिकी निर्वाचन अभियानमा ह्याकरहरूले आक्रमण गरिरहेको माइक्रोसफ्टको दाबी
अमेरिकामा हुन लागेको राष्ट्रिपतीय निर्वाचनको प्रसारप्रसार अभियानलाई ह्याकरहरूले लक्षित गरिरहेको पाइएको जनाइएको छ। प्रभावशाली सूचना प्रविधि कम्पनीका रुपमा रहेको माइक्रोसफ्टले त्यस्ता विवरणहरू आफुहरूले धेरै प्राप्त गरेको जानकारी दिएको हो।
निर्वाचन लक्षित गतिधिविधिहरूमा भइरहेका साइबर आक्रमणहरू विषेश गरेर रुस, चीन र इरानबाट भइरहेको पनि कम्पनीले बिहीबार स्पष्ट पारेको छ। त्यस्ता कार्यबाट उनीहरूले कतिपय व्यक्तिगत र कतिपय संस्थागत सूचनाहरू लिने गरेको माइक्रोसफ्टका अधिकारीहरूले जनाएका छन्।
आक्रमणकारीहरूले राष्ट्रपतिका दुवै उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी डेमोक्रयाटिक तर्फका उम्मेदवार जोन बिडेन दुवैको प्रचार प्रसार कार्यलाई लक्षित गरिरहेको पाइएको छ।
अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ। यसअघिको निर्वाचनमा पनि यस्तै प्रकारका आक्रमणहरु र गतल प्रयासहरु भएको आरोप लागेको थियो।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्याटिक तर्फकी उम्मेदबार हिलारी क्लिन्टनको पक्षमा भएको प्रचारप्रसार र रणनीति सम्वन्धी विवरणहरू अनधिकृत रूपमा रुसी ह्याकरहरूले चोरेको चर्चा भएको थियो। अहिलेको ह्याकिङ कार्यमा पनि उनीहरू संलग्न रहेको पाइएको माइक्रोसफ्टले जनाएको छ।
रुसका ह्याकरहरूले अमेरिकी दुवै राजनीतिक पार्टी रिपब्लिकन र डेमोक्रयाटिकहरुसँग सम्वन्धीत दुईसय भन्दा बढी संगठनहरूलाई लक्षित गरेको माइक्रोसफ्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।