दिनेश सञ्चारगृहका पत्रकारमाथि कार्यकक्षमै कुटपिट
कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित दिनेश सञ्चारगृहमा कार्यरत पत्रकारमाथि कार्यकक्षमै कुटपिट भएको छ। समाचारको विषयलाई लिएर पुगेका १५/२० जनाको समूहले आज बिहान दिनेश सञ्चारगृहका सहसम्पादक जनक विष्ट, व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि हातपात गरेका हुन्।
‘जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका १९ वर्षीय युवकले आत्महत्या गरेको’ भन्ने समाचार गलत भन्दै मृतकका आफन्तले पत्रकारमाथि आक्रमण गरेका हुन्। “हाम्रो अनलाइनमा प्रकाशित समाचारका विषयमा उहाँहरूले असन्तुष्टि जनाउनुभयो। हामीले प्रहरीले दिएको जानकारीका आधारमा समाचार लेखेका हौं” पत्रकार विष्टले भने, “उहाँहरू आत्महत्या होइन, हामीलाई हत्याको आशंका छ भन्दै आउनुभएको थियो, गलत समाचार किन लेखेको भनेर हातपातमा उत्रिनुभयो।”
मृतकका दाइ बताउने व्यक्तिको नेतृत्वमा आएको समूहले आक्रमण गरेको पत्रकारका विष्टले बताए।विष्टले आक्रमणमा संलग्नको सबै पहिचान नखुलेकाले अहिले प्रहरीमा ठाडो निवेदन दिएको बताए। दिनेश सञ्चारगृहले धनगढीमा रेडियो र अनलाइन सञ्चालन गरिरहेको छ।
यसैबीच, आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ कैलाली र प्रेस युनियन कैलालीले आपत्ति जनाएका छन्। उनीहरूले घटनामा संलग्नलाई तत्काल कारबाही गर्न समेत माग गरेका छन्।
प्रहरी हिरासतमा रहेका धनगढी उपमहानरपालिकामा कार्यरत एक कर्मचारीका १९ वर्षीय छोराको आज बिहान मृत्यु भएको थियो। प्रहरीले उनले आत्महत्या गरेको बताएको छ भने मृतकका आफन्तले हत्या भएको आरोप लगाएका छन्। मृतकका आफन्तले धनगढीमा प्रदर्शन समेत गरेका छन्।