यूएईमा कोरोना विरुद्धको भ्याक्सिन लगाएका नेपाली भन्छन्– स्वास्थ्य सामान्य छ, अब कोरोनाले छुँदैन भन्ने लागेको छ
अहिले संसार नै कोरोनाभाइरस संक्रमणको महामारीले आक्रान्त छ। यो भाइरसको विस्तार रोक्न धेरैजसो मुलुकले बन्दाबन्दी, निषेधाज्ञा जस्ता उपाय अवलम्बन गरे। व्यक्तिगत दूरी कायम गर्ने, घरबाहिर र काममा निस्कँदा मास्क लगाउने, साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता आनीबानीलाई सबैतिर जीवनशैलीका रुपमा अवलम्बन गरियो। विश्व स्वास्थ्य संगठनले नै कोरोनाभाइरस विरुद्धको खोप (भ्याक्सिन) विकास नभएसम्म यिनै उपाय अवलम्बन गर्नुको विकल्प नरहेको बताएको छ।
पहिल्यै स्वास्थ्य समस्या जटिल भएका दीर्घरोगीका निम्ति डरलाग्दो मानिएको कोरोनाभाइरस संक्रमण (कोभिड–१९) बाट पछिल्लो समय सामान्य स्वास्थ्य भएका र युवामा पनि जटिल समस्या देखिन थालेको छ। स्वास्थ्यदेखि समाज र अर्थतन्त्रको जग नै हल्लाइदिएको यो भाइरस विरुद्ध लड्न विकसित देशहरुले खोप आविष्कार गर्न उत्तिकै मिहिनेत गरिरहेका छन्। केही देशले खोप आविष्कार गरेर त्यसलाई विभिन्न चरणमा परीक्षण पनि गरिरहेका छन्। चीनले तयार पारेको भनिएको खोप त्यसमध्ये एक हो। त्यो खोप अहिले यूनाइटेड अरब इमिरेट्स (यूएई) मा परीक्षण भइरहेको छ।
यूएईको आबुधाबीमा रहेका नुवाकोटका सुरेन्द्र उप्रेतीले पनि परीक्षणका क्रममा रहेको यो खोप लगाएका छन्। खोप लगाएपछि स्वास्थ्य स्थितिमा के असर पर्यो ? यसबारे उप्रेतीले हिमालखबर संवाददाता मुकेश पोखरेललाई यसरी सुनाए:
म आबुधाबीमा बस्न थालेको १२ वर्ष भयो। यहाँको एक पर्यटन कम्पनीमा ट्याक्सी चालक छु। कोरोनाको महामारी संसारभर फैलिएपछि यहाँ पनि नफैलिने कुरै थिएन। शुरुमा एकदमै डर लाग्यो। यसबाट बच्न सम्भव भएजति सावधानी अपनाएँ।
हामी डेरामा सात जना (नेपाली) बस्थ्यौं। सातमध्ये पाँच जनालाई कोरोना संक्रमण हुँदा पनि म संक्रमित भइनँ। मलाई लाग्छ, त्यही सावधानीले जोगायो।
यहाँ संक्रमितहरुका लागि एकदमै राम्रो व्यवस्था गरिएको थियो। उनीहरुलाई राख्न विद्यालयका होस्टल, ठूला क्याम्प र होटललाई आइसोलेसन सेन्टर बनाइएको थियो। संक्रमित हुनेबित्तिकै त्यहाँ लगेर राखिन्थ्यो। संक्रमितलाई दिइने खाना, हेरचाह राम्रो थियो। ५० वर्षमाथिका व्यक्तिलाई भने सकेसम्म अस्पतालमै राख्ने व्यवस्था गरिएको थियो।
यूएईमा अप्रिलदेखि बढ्न थालेको कोरोना संक्रमितको संख्या उच्च विन्दूमा पुगेपछि एम्बुलेन्सहरुलाई बिरामी बोक्न भ्याईनभ्याई हुनथाल्यो। त्यसपछि सरकारले ट्याक्सीहरुलाई बिरामी बोक्न परिचालन गर्यो। संक्रमितले अस्पताल वा आइसोलेसन सेन्टर जान्छु भनेमा निःशुल्क रुपमा पुर्याउनुपर्थ्यो। अस्पताल वा सेन्टरबाट घर जानेलाई पनि निःशुल्क लैजाने व्यवस्था गरिएको थियो। ट्याक्सीको पैसा सरकारले दिन्थ्यो। मैले पनि धेरै संक्रमितलाई ट्याक्सीमा ओसारें।
अहिले आबुधाबीमा चीनमा बनेको कोरोनाभाइरस विरुद्धको भ्याक्सिन परीक्षण भइरहेको छ। म कार्यरत कम्पनीका करीब एक हजार जनाले पनि यो भ्याक्सिन लगाएका छौं। मसँगै कोठामा बस्ने सबै (नेपाली) साथीले पनि लगाएका छन्। अहिलेसम्म कुनै साइड इफेक्ट देखिएको छैन।
यसरी संक्रमित ओसार्दा पनि सावधानी अपनाएकै कारण म संक्रमित भइनँ। अहिले अवस्था सामान्य बनिसकेको छ। तर, जताततै मास्कको प्रयोग अनिवार्य छ। मास्क नलगाई निस्क्यो भने ३ हजार दिराम (रु.१ लाख) जरिवाना तिर्नुपर्छ। सरकारले घरभित्र बस्दा पनि मास्क प्रयोग गर्न आग्रह गरेको छ।
अहिले आबुधाबीमा चीनमा बनेको कोरोनाभाइरस विरुद्धको भ्याक्सिन परीक्षण भइरहेको छ। यो भ्याक्सिन यूएईका नागरिकदेखि यहाँ बस्ने हामी जस्तै अरु देशका नागरिकले पनि लगाउन पाउँछन्। म कार्यरत कम्पनीका करीब एक हजार जनाले पनि यो भ्याक्सिन लगाएका छौं। मसँगै कोठामा बस्ने सबै (नेपाली) साथीले पनि भ्याक्सिन लगाएका छन्।
कम्पनीले शुरुमा हामीलाई भ्याक्सिनबारे विस्तृत रुपमा जानकारी गराएको थियो। त्यसपछि नै म भ्याक्सिन लगाउने निर्णयमा पुगेको हुँ। आबुधाबीको प्रदर्शनी केन्द्रमा भ्याक्सिन लगाउने व्यवस्था गरिएको थियो। त्यहाँ पुगेर मैले भ्याक्सिन लगाउने निर्णय सुनाएँ। त्यसपछि पूरै स्वास्थ्य जाँच गरियो। मधुमेह, उच्च रक्तचाप भएका व्यक्तिलाई भ्याक्सिन नलगाइँदो रहेछ। मलाई यी समस्या थिएन। पहिलो भ्याक्सिन लगाएको ठीक एक महीनापछि दोस्रो भ्याक्सिन लगाएको पनि आज सात दिन भयो।
अहिलेसम्म मलाई कुनै साइड इफेक्ट देखिएको छैन। मेरो स्वास्थ्य पहिला जस्तो थियो, अहिले पनि त्यस्तै छ। मैले चिनेका कोही साथीमा पनि कुनै किसिमको स्वास्थ्य समस्या देखिएको छैन। दिनमा एक पटक डाक्टरहरुले टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिन्छन्। ज्वरो नाप्ने थर्मल गन दिइएको छ, त्यसबाट शरीरको तापक्रम नापेर दैनिक एउटा फर्म भर्नुपर्छ।
यहाँ साठी वर्षमाथि उमेरसमूहका मानिसले पनि भ्याक्सिन लगाएका छन्। उनीहरुलाई भने दैनिक रुपमा डाक्टरले भेट्छन्।
यो भ्याक्सिन लगाएको २०/२० दिनको फरकमा कोरोना परीक्षण हुन्छ। दोस्रो भ्याक्सिन लगाएको एक महीना पुगेपछि तेस्रो भ्याक्सिन लगाउने हो। डाक्टरले त्यसपछि डोज पुग्छ, लगाउनु पर्दैन भनेका छन्। डाक्टरहरुको हेरचाह एकदमै राम्रो छ। पटक पटक मोबाइलमा मेसेज आउँछ। मेसेजको जवाफ पठाउन भ्याइएन भने फोन आइहाल्छ।
भ्याक्सिन लगाएको कार्ड देखाएपछि यूएईको एक ठाउँबाट अर्को ठाउँ जान कोरोना परीक्षणको रिपोर्ट चाहिँदैन। नभए, अहिले आबुधाबीको एक ठाउँबाट अर्को ठाउँ जान पनि कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट अनिवार्य छ।
भ्याक्सिन लगाएपछि आत्मविश्वास बढेको छ। अब कोरोना लाग्दैन भन्ने कुरामा ढुक्क हुन थालेको छु। भ्याक्सिनको परीक्षण छिटो सम्पन्न भएर संसार कोरोनाबाट चाँडै मुक्त भइदिए हुन्थ्यो।