जलवायुजन्य प्रकोपका कारण नेपालको पर्यटन क्षेत्रमा वार्षिक रु. २५ अर्बको क्षति
प्राक्टिकल एक्सन र संस्कृति, पर्यटन मन्त्रालयले सन् २०१७/१८ मा गरेको अध्ययनले बाढी, पहिरो, हिम आँधी लगायत जलवायुजन्य प्रकोपका कारण पर्यटन क्षेत्रको अर्थतन्त्रमा गम्भीर असर पुर्याएको उल्लेख गरेको छ।
जलवायुजन्य प्रकोपका कारण नेपालको पर्यटन क्षेत्रले वार्षिक सरदर २४१ मिलियन अमेरिकी डलर (करीब रु.२५ अर्ब) बराबरको क्षति व्यहोरिरहेको एक अध्ययनले देखाएको छ।
नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले पारेको आर्थिक नोक्सानबारे प्राक्टिकल एक्सन र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गरेको अध्ययनले सन् १९८४ देखि २०१३ सम्म वार्षिक सरदर २४१ मिलियन डलर क्षति भएको उल्लेख गरेको छ। उक्त अवधिमा जलवायुजन्य प्रकोपको कारण पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पुगेको नोक्सानलाई आधार बनाएर अध्ययन गरिएको हो।
जलवायुजन्य प्रकोपमा मुख्य गरी बाढी, पहिरो, हिम आँधी छन्। यसले पर्यटन क्षेत्रको अर्थतन्त्रमा गम्भीर असर पुर्याएको अध्ययनमा उल्लेख छ।
जलवायु परिवर्तनका असरबाट पर्यटन क्षेत्रलाई अगाडि बढाउन र निजी क्षेत्रलाई प्रकोपसँग जुध्ने तयारीका लागि अध्ययन महत्वपूर्ण हुने ठानिएको छ।
अध्ययनमा संलग्न प्राक्टिकल एक्सनका क्षेत्रीय सल्लाहकार सुनील आचार्यका अनुसार, जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारिरहेको असर बुझ्न र सम्भावित असर र त्यसलाई कम गर्न अपनाउनुपर्ने रणनीति तय गर्न अध्ययन गरिएको हो।
आचार्य भन्छन्, “जलवायुजन्य प्रकोपले नेपालको पर्यटन क्षेत्रमा पार्ने असरको लेखाजोखा गरिएको यो पहिलो अध्ययन हो, यसबाट जलवायु उत्थानशील पर्यटकीय पूर्वाधारको विकासका लागि टेवा पुग्छ।”
गर्मी मौसममा पर्यटक आगमन बढी
अध्ययनले तापक्रम घट्दा र पानी पर्दा नेपालको पर्यटन क्षेत्र बढी प्रभावित हुने देखाएको छ। सरदर एक डिग्री तापक्रम घट्दा नेपाल आउने विदेशी पर्यटकको संख्या ११.५७ प्रतिशतले कमी आउने र एक डिग्री तापक्रम बढ्दा ७.६४ प्रतिशतले पर्यटक घट्ने अध्ययनले देखाएको छ। यस अध्ययनबाट गर्मीको समयमा पर्यटक नेपाल आउन रुचाउने देखिन्छ। यो अध्ययन मुख्य पर्यटकीय गन्तव्य पोखरा, लाङटाङ र चितवनलाई मुख्य आधार मानेर गरिएको थियो।
अध्ययनले न्यूनतम १ डिग्री तापक्रम वृद्धि हुँदा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १.६१ र अधिकतम तापक्रम १ डिग्री बढ्दा १.६३ प्रतिशतले प्रभाव पर्ने देखाएको छ।
सन् २०१७/१८ मा उक्त अध्ययन गरिएको हो। अध्ययनमा सहभागी हाल राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल ठूल्ठूला विपद् नआएको अवस्थामा जलवायु परिवर्तनको अवस्था अहिले प्रक्षेपण गरेकै अवस्थामा रह्यो भने कस्तो असर गर्ला भन्नेबारे अध्ययन गरिएको बताउँछन्।
“हामीले सन् २०१७/१८ मा अध्ययन गर्दा पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले मात्र असर गर्दैन, अन्य खालका ठूला महामारीले पनि प्रभावित पार्छ भन्ने प्रक्षेपण गरेका थियौं”, फुयाल भन्छन्, “दुई वर्षमै हामीले प्रक्षेपण गरे जस्तै महामारीले पर्यटन क्षेत्रमा असर गर्यो।”