चलचित्र सम्बन्धी पढाइ अब विद्यालय तहबाटै
आगामी वर्षको शैक्षिक सत्रदेखि माध्यामिक तहमा ‘सिनेमा तथा डकुमेन्ट्री’ सम्बन्धी पढाइ हुने भएको छ। यसका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार भई त्यसलाई सरकारले स्वीकृत समेत गरिसकेको छ।
चलचित्रका विषयमा माध्यामिकस्तरबाटै पढाइ हुनुपर्ने माग आएको र पाठ्यक्रम विकास केन्द्रले यो माग उपयुक्त देखेकोले पाठ्यक्रम निर्धारण गरिएको केन्द्रको भनाइ छ।
तर, कोभिड-१९ का कारण यस सम्बन्धी छलफललाई बृहत रूपमा अगाडि बढाउन नसकिएको पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले बताए। पाठ्यक्रम कस्तो हुने भन्ने विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँग छलफल भएको उनले बताए।
पाठ्यक्रम विकास केन्द्रले चलचित्र विकास बोर्डसँग पाठ्यक्रम निर्माणका लागि विज्ञ माग गरेको छ। भट्टराईले भने “पाठ्यक्रममा कस्तो विषयवस्तु राख्ने भन्ने बारेमा हामीमा विज्ञता एवं प्राविधिक ज्ञान छैन। त्यसैले चलचित्र विकास बोर्डसँग विज्ञ मागेका छौं।”
चलचित्र संस्कृतिको शुरूआत माध्यामिक तहबाट नै शुरू होस् भन्ने चलचित्रर्मीको चाहनालाई मनन् गर्दै राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार पारेको सूचना अधिकारी भट्टराईको भनाइ छ। “अहिलेको अवस्थाले काम धेरै अघि बढेको छैन। अवस्था सामान्य भएपछि विज्ञहरूसँगको छलफलपछि काम अगाडि बढाउँछौं”, उनले भने “अर्को वर्षदेखि यो विषय माध्यामिक तहदेखि पढाइ शुरू हुन्छ।”
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली चलचित्रको अध्ययनका लागि राम्रो शुरूआत भएको बताए। नेपाली चलचित्रको प्राविधिक, सांस्कृतिक, इतिहास र विकासक्रमको अध्ययन तथा छलफल हुनका लागि माध्यामिक तहबाट नै पढाइ हुनुपर्ने मागलाई पाठ्यक्रम विकास केन्द्रले सम्बोधन गरकोमा उनले खुशी व्यक्त गरे।
उनले भने “यो हाम्रो धेरै फिल्मकर्मीको सपना हो, विद्यालयस्तरबाटै चलचित्र विषय पढाइ भएको हेर्ने। त्यो सपना आगामी वर्षदेखि पूरा हुँदैछ।”
पाठ्यक्रममा कस्ता विषय समेट्ने भन्नेबारे विज्ञहरूसँग छलफल गर्ने तयारी भइरहेको दाहालले बताए। “खाली पाठ्यक्रम मात्रै नभएर यसले सिनेमाको बौद्धिक छलफल गर्न सहयोग पुगोस् भन्ने हो”, दाहाल भन्छन् “कस्तो खालको पाठ्यक्रम बनाउँदा प्रभावकारी हुन्छ भनेर जानकार तथा विज्ञहरूसँग बृहत छलफल गरेर ‘कोर टीम’ बनाएर काम अगाडि बढाउँछौं।”
माध्यामिक तहबाट चलचित्रको विषयमा पढाइ हुँदा केवल मनोरञ्जनको विषय मात्रै नभएर चलचित्रको विषयवस्तुमाथि बौद्धिक बहस सिर्जना हुने बोर्डका अध्यक्ष दाहालको दाबी छ। अवस्था अलिकति सहज भएपछि बृहत छलफल गर्ने तयारी भएको उनले बताए।
“बन्दाबन्दी नभएको भए धेरै अगाडि पुग्थ्यो। यसको गम्भीरतालाई विचार गर्दै भर्चुअल भन्दा पनि भौतिक छलफलले मात्रै सही निष्कर्ष आउँछ भनेर सामान्य अवस्थाको पर्खाइमा छौं।”
विज्ञहरूको छलफलपछि ‘सिनेमा तथा डकुमेन्ट्री अध्ययन’ विषयमा चलचित्र, छोटा चलचित्र, वृत्तचित्र सम्बन्धी सामग्री समेटिने पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी भट्टराईले बताए।