कसले अड्कायो मत्स्येन्द्रनाथको रथको पाङ्ग्रो ?
गणतन्त्रका शासकले धार्मिक सांस्कृतिक कार्यमा राजतन्त्रकै सिको गरे पनि स्थानीय धर्म संस्कृतिको मर्म बुझेको देखिएन । नत्र मत्स्येन्द्रनाथको रथ तान्ने जात्रामा अप्रिय स्थिति आउँदैनथ्यो ।
कोभिड–१९ को औषधि वा खोप पत्ता लागिनसकेकाले अहिले हामी संक्रमित नहुन निरोधात्मक उपायहरूको अभ्यासमा छौं । कोभिड–१९ संक्रमणको चक्र तोड्न विश्वका अधिकांश मुलुकहरूले अवलम्बन गर्दै आएको ‘लकडाउन’ (बन्दाबन्दी) हाम्रो सन्दर्भमा उति प्रभावकारी हुन नसकेपछि एक कदम अघि बढेर सरकारले मुलुकमा स्थानविशेषका आधारमा निषेधाज्ञा जारी गर्दै आएको छ । तर यो विधि समेत अपेक्षा गरिए जस्तो परिणाममुखी हुनसकेको छैन ।
मानवीय सम्पर्क नै संक्रमण विस्तारको मूल कारक मानिएकाले मानव–मानव बीचको भौतिक दूरी अर्थात् ‘सोसल डिस्टेन्सिङ’ को विधि केही महीनादेखि हामी निर्ममतापूर्वक अवलम्बन गरिरहेका छौं । रोगले आफ्नो र पराइ नछुट्याउने भएकाले हामी आफ्ना परिवार र प्रियजनदेखि पनि भौतिक रूपमा टाढा रहँदै आएका छौं । चेलीबेटी माइतदेखि, बालबालिका मावली र विद्यालयदेखि, युवायुवती प्रेमी–प्रेमिकादेखि र भक्तजन भगवानको प्रतीकात्मक निवासस्थान देवालयदेखि टाढा रहन बाध्य छन् । बजार, विद्यालय, सिनेमाघर मात्र होइन देवालय समेत सुनसान छ, अहिले ।
बन्दाबन्दीयताको मेरो दैनिकी हिंडडुल निषेधको सरकारी फर्मान र सामाजिक दूरीको अभ्यासका कारण पूरै विथोलिएको छ । बन्दाबन्दी पछि पनि सूर्य त्यसैगरी उदाए तापनि मेरो हकमा चाहिं दिनको शुरूआत त्यसैगरी हुँदैन जसरी त्यसअघि हुने गर्दथ्यो । बन्दाबन्दी अघिसम्मका प्रातः भ्रमण सँगसँगै रमण हुन्थ्यो, सामाजिक दूरी रहित अत्यन्त आत्मिक ।
प्राचीन नगरी पाटनका भित्री क्षेत्र जसलाई पाटनवासी फिक्सन डिजाइनर मित्र कुमार नगरकोटी ‘तान्त्रिक गल्ली’ भन्ने गर्दछन्, अक्सर मेरा प्रातः रमण–स्थल हुने गर्दथे । नयाँबानेश्वरबाट शंखमूलको साँघुरो पुल कटेर पाटन दरबार परिसर पार गर्दै म दक्षिणतिरको मंगलबजारको बाटो समाउँथें । बिहानीको मंगलबजार जीवन्त र संगीतमय हुन्थ्यो । लगनखेल पुग्नु केही अघि मंगलबजार मूल बाटोको देब्रेपट्टिको एक विहारमा म नबिराई प्रदक्षिणा निम्ति जान्थें । जेष्ठवर्ण महाविहार नामको त्यो फराकिलो चोकको मध्यभागस्थित भव्य मन्दिरमा लगभग वर्षभर एक अवलोकेश्वर विराजमान रहन्छन् ।
मीननाथका नामले प्रख्यात लोकेश्वरलाई मत्स्येन्द्रनाथको जात्रा अवधिभर मत्स्येन्द्रनाथको मुख्य रथसँगैको सानो रथमा विराजमान गराइन्छ । मन्दिरमा देवता नरहेको बेला भक्तजनहरू केही पाइला अघिको लगनखेल र पुल्चोकमा मत्स्येन्द्रनाथसँगै मीननाथलाई फूल र पाती चढाउँदै तथा दियो र धूप बाल्दै पूजाअर्चना गरिरहेका हुन्छन् । तर, यो वर्ष शताब्दियौंदेखि चल्दै आएको मत्स्येन्द्रनाथको जात्रा र पूजा आराधनाको यो क्रम नराम्ररी बिथोलियो । जसको कारक थोरै कोभिड–१९ र धेरै चाहिं भने हाम्रै शासकको अकर्मण्यता र अदूरदृष्टि थियो ।
वैशाख शुक्लपक्षमा निकालिनुपर्ने मत्स्येन्द्रनाथ रथयात्राको शुभसाइत यसपटक २७ चैतमा परेको थियो । तर बन्दाबन्दीका कारण जात्रा गर्ने वा नगर्ने भन्नेमा समयमै निर्णय हुन सकेन । जात्रा संचालन बारेको गुठियारका ताकेता सरोकारवाला निकाय गुठी संस्थानले बन्दाबन्दी खुकुलो भएपछि मात्र सम्बोधन ग¥यो । त्यसैले ढिलै सही रथ निर्माण सम्पन्न भयो । तर, कोभिड–१९ को संक्रमण नघटेपछि न गुठी संस्थान न त स्थानीय प्रशासन — रथयात्रा कहिले र कसरी चलाइने भन्ने निर्णयमा पुग्न सकेनन् ।
समय घर्किंदै जानु र ४ भदौदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएपछि रथयात्रा बारेको अन्योलले गुठियार र स्थानीय समुदायमा वेचैनी पैदा ग¥यो । गुठियारले स्थानीय प्रशासनदेखि राष्ट्रपतिसम्म कफ्र्यु नै लगाएर भए पनि रथयात्रा चलाउन निवेदन दिए । तर, त्यसको कुनै सुनुवाइ भएन । मत्स्येन्द्रनाथको रथलाई आफ्नो लोगो बनाएको ललितपुर महानगरपालिका समेत रथयात्रा गुठियार र प्रशासनको विषय रहेको भन्दै पन्छिदियो । सहकालका देवता मत्स्येन्द्रनाथ आफैं विखलबन्दमा परे ।
देवताका परिपूरक मानिस
‘धर्मो रक्षति रक्षितः’ अर्थात् यदि हामी धर्मको रक्षा गर्छौं भने धर्मले पनि हाम्रो रक्षा गर्नेछ भन्ने हिन्दू धर्मको श्लोकको भाव सुफीहरूको ईश्वरप्रतिको धारणा समीचीन पाइन्छ । सुफीहरू ईश्वरलाई प्रेमीका रूपमा लिन्छन् । मानिस छन् र त ईश्वरको पनि अस्तित्व छ भन्ने उनीहरू ईश्वरको प्रेममा आफूलाई उत्सर्ग गर्दछन् । जतिसुकै नास्तिक भन्नेहरू पनि कष्ट वा संकटका बेला अनायासै ईश्वरको पुकारा गरिरहेका हुन्छन् । उता ईश्वर स्वयं संकटको भुमरीमा फसेको बेला उद्धार निम्ति मानिस नै पुगिरहेका हुन्छन् ।
मत्स्येन्द्रनाथको मिथ सुन्दा त ईश्वर शक्तिशाली कि मानिस भन्ने जिज्ञासा स्वाभाविक रूपमा उब्जिन्छ । भारतको कामरुप कामाख्या (वर्तमान असम) का सर्वशक्तिमान देवता मत्स्येन्द्रनाथलाई काठमाडौं उपत्यका अर्थात् नेपालमण्डलका सातौं शताब्दीका लिच्छवि वंशका राजा नरेन्द्रदेव तथा राजपुरोहित एवं तान्त्रिक वन्धुदत्त आचार्यले चातुर्य र टुनामुनाबाट बट्टामा बन्द गरेर नेपालमण्डल भित्र्याएको मिथ मानिस र ईश्वरको सम्बन्धको लोमहर्षक कथा हो ।
रामायण, महाभारतदेखि पौराणिक ग्रन्थका वीर योद्धाहरूले ईश्वरलाई युद्धमा आच्छु–आच्छु पारेका अनेकौं कथा र प्रसङ्ग पढ्न÷सुन्न पाइन्छ । नेपालमण्डलका जामन गुभाजु जस्ता सिद्ध तान्त्रिकले देवतालाई वशमा पारेकोदेखि तन्त्र विद्यामा पारङ्गत प्रताप मल्ल जस्ता राजाले भयंकर नागलाई परास्त गरेर सहकाल भित्र्याएका अनेकौं जनश्रुति प्रसिद्ध छन् ।
अन्य बेला मानिसको उद्धार देवताले गर्छन् । तर गएको १८ भदौ बिहीबारको मध्याह्न देवताको उद्धार निम्ति मानिसहरू जम्मा भए । बेलैमा रथ नचलाइए २ असोजदेखि मलमास लाग्ने र ललितपुरले जात्रा सम्पन्न गर्न नसक्दा जात्रामाथि स्वतः भक्तपुरको हकदाबी हुने प्राचीन मान्यताले ललितपुरका युवाहरूलाई वेचैन बनाएपछि उनीहरू स्वतस्फूर्त पुल्चोक भेला भए र प्रहरी चेतावनी बेवास्ता गर्दै रथ तान्न थाले । स्थानीय प्रशासनको अनुमति बेगर युवा जमातले जबर्जस्ती रथ तान्न थालेपछि प्रहरी र युवा जमातबीच झडप भयो । झडपमा स्थानीय युवा र प्रहरी दुवैथरी घाइते भए । स्थितिले अप्रिय मोड लिएपछि प्रशासनले भोलिपल्ट कफ्र्यु जारी गर्यो ।
घटना अप्रिय भए पनि त्यसले लामो समयदेखिको अनिर्णयको अवस्थालाई भने निकास दियो । झडपको कोलाहलले राज्य र प्रशासनको चिरनिद्रा भङ्ग गर्यो । परिणामः २१ भदौ आइतबार कफ्र्युका बीच क्षमापूजा पछि रथलाई गुठियारका प्रतिनिधि तथा सुरक्षाकर्मीले केही परसम्म तानेर बिसाएका छन् भने २९ भदौको साइतमा मत्स्येन्द्रनाथको मूर्तिलाई रथबाट अवतरण गराई वुङ्गमती लगिनेछ । जात्राको मुख्य आकर्षण नरिवल खसाउने र भोटो प्रदर्शन यस वर्ष संभव नभए तापनि मलमास लाग्नुअघि नै जात्रा सम्पन्न भइसक्नेछ ।
आतिथेयीमाथिको शासकीय हुँकार
नेपाल एकीकरणको अभियानमा निस्केका पृथ्वीनारायण शाहले कान्तिपुरमाथि उसको सर्वाधिक उत्सवपूर्ण दिन इन्द्रजात्रामा धावा बोले । तर, कान्तिपुरमाथि विजय पाएका उनले यहाँको संस्कृति भने अक्षुण्ण राखे । कान्तिपुरका जीवित देवी कुमारीको पाउमा आफ्नो शिर राख्दै पृथ्वीनारायणले स्थानीय संस्कृतिको स्वामित्व ग्रहण गरे । पृथ्वीनारायणले प्रारम्भ गरेको राजा र स्थानीय धर्म संस्कृति सम्मिलनको परम्परा उनका उत्तराधिकारीले कायम राखे ।
नेपालमा गणतन्त्रको स्थापना र धर्मनिरपेक्षताको घोषणापछि गणतान्त्रिक नेपालका राष्ट्रप्रमुखले पनि धार्मिक सांस्कृतिक कार्यमा राजतन्त्रकै सिको गर्दै आएका छन् । तर, धर्मनिरपेक्षताको भावना विपरीत धार्मिक पर्व र समारोहमा उपस्थिति जनाउने राष्ट्रप्रमुखले स्थानीय धर्म संस्कृतिको मर्म बुझे जस्तो चाहिं देखिंदैन । नत्र मत्स्येन्द्रनाथका मूल पुरोहितले रथयात्राका लागि राष्ट्रपतिसमक्ष गरेको याचनाको पक्कै सुनुवाइ हुनुपर्ने थियो ।
राजधानी बाहिरका नेताले काठमाडौंमा घरजम गर्दै सिंहदरबारको सिंहासनमा हालिमुहाली गरे पनि उनीहरू स्थानीय संस्कृतिको स्वामित्व लिने काममा भने उदासीन देखिंदै आएका छन् । आफ्ना ‘होस्ट’ अर्थात् आतिथेयीको भावना बुझ्न वा उनीहरूप्रति कृतज्ञता प्रकट गर्नमा नराम्ररी चुकेका छन् ।
अझ, गणतन्त्रयता सत्तामा पुग्नेहरूको स्थानीय धर्म संस्कृतिप्रतिको उपेक्षाभावको त कुरा गरिसाध्य छैन । अर्थमन्त्री बनेका बाबुराम भट्टराईले कुमारी पूजाको रकम कट्टी गरेपछि गुठियार र स्थानीयको उग्र विरोधको सामना गर्न प¥यो । स्वयं रैथाने काठमाडौंवासीका ज्वाइँ भट्टराईको उक्त अविवेकी कदम केही घण्टा पनि टिक्न सकेन । पुष्पकमल दाहाल पहिलोपल्ट प्रधानमन्त्री बनेपछि उनले पनि आफ्ना पार्टी कार्यकर्तालाई आराध्यदेव पशुपतिनाथको मूल भट्टमा नियुक्त गरे, जसको सर्वत्र विरोध पछि उनी पनि आफ्नो निर्णय फिर्ता लिन बाध्य भए । यसैगरी दोस्रो पटक सत्तामा पुगेका केपी शर्मा ओलीले रैथाने नेवारको सांस्कृतिक विरासत माथि डोजर चलाउँदै गुठी विधेयक ल्याएपछि मुर्मुरिएका रैथानेको विरोधका कारण विधेयक नै फिर्ता लिन बाध्य बनेका थिए ।
मत्स्येन्द्रनाथको जात्रालाई पनि यसै कडीमा लिइनुपर्दछ । राजधानी बाहिरका नेताले काठमाडौंमा घरजम गर्दै सिंहदरबारको सिंहासनमा हालिमुहाली गरे पनि उनीहरू स्थानीय संस्कृतिको स्वामित्व लिने काममा भने उदासीन देखिंदै आएका छन् । आफ्ना ‘होस्ट’ अर्थात् आतिथेयीको भावना बुझ्न वा उनीहरूप्रति कृतज्ञता प्रकट गर्नमा नराम्ररी चुकेका छन् । सात समुद्रपारदेखि धर्म प्रचारका निम्ति आउनेका ‘होली वाइन’ ग्रहण निम्ति लालायित उनीहरू स्थानीय संस्कृतिको प्रवद्र्धनमा भने धेरै नै चुकेका छन् ।
मत्स्येन्द्रनाथ रथयात्राको आलोकमा भन्ने हो भने अरू त अरू पाटनका रैथाने नेवारका ज्वाइँ प्रधानमन्त्री ओली समेतबाट रथयात्राको निरन्तरताबारे चासो प्रकट नगरिनु उदेकको विषय हो । ‘होली वाइन’ वालाका निम्ति सहजकर्ता बन्दै सोल्टी होटलमा वास बस्न पुगेका ओलीले ससुराली टोलको क्षम–कुशलसम्म सोध्न नसक्नु बुझिसाध्य छैन ।