अपरिचित व्यक्तिको छुरा प्रहारबाट रौतहटमा एक जना घाइते
रौतहटमा एक पुरुषमाथि छुरा प्रहार भएको छ। राजपुर नगरपालिका–२ फतुवामहेशपुर गाउँका ५४ वर्षीय सुरज मुखियामाथि छुरा प्रहार भएको हो। उनलाई कसले छुरा हानेको भन्ने खुलिसकेको छैन। आक्रमणमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घरबाट बिहान धानखेत हेर्न निस्केका मुखियालाई अपरिचित मानिसले अन्धाधुन्ध छुरा प्रहार गरेका थिए। मुखियाले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने व्यक्ति भागेका थिए। उनीहरूलाई आफूले नचिनेको मुखियाले बताएका छन्।
छुरा प्रहारबाट सख्त घाइते मुखियालाई जिल्ला अस्पताल गौरमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ। मुखियाको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डीएसपी भरत श्रेष्ठले बताए।
गएको ३१ साउनमा रौतहटको जिंगडियामा एक दलित युवकको घाँटी रेटेर हत्या भएयता विभिन्न आपराधिक घटना भइरहेका छन्। माधवनारायण नगरपालिका–२ मा हनुमान मन्दिरका पुजारी श्रीराम साहको ३ भदौ साँझ हत्या भएको थियो। हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।
त्यसपछि गढीमाई नगरपालिका–३ का मिन्त्रादेवी बैठा र ईशनाथ नगरपालिका–३ का दिनदयाल साहको भारतमा हत्या भएको छ। कोरोना संक्रमणले आक्रान्त रौतहटमा एकपछि अर्को आपराधिक घटना हुँदा स्थानीय त्रसित बनेका छन्।
यसैबीच, रौतहटको छुट्टाछुट्टै स्थानमा दुई बालबालिकाको मृत्यु भएको छ।
राजपुर नगरपालिका–१ पिपरा भगवानपुरका रामप्रवेश बैठाका डेढ वर्षका छोरा आदित्य ठाकुरको घरनजिकै कलधाराको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ।
यस्तै, फतुवाविजयपुर नगरपालिका–६ का आनन्दी साहकी डेढ वर्षकी छोरी विनिताकुमारी साहको घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।