सन्तानको दीर्घायुको कामना गर्दै मनाइयो खरजितिया
रौतहट- सर्लाही र रौतहटका महिलाहरूले आफ्ना सन्तानको सुख तथा दीर्घायुको कामना गर्दै खरजितिया पर्व मनाएका छन्।
शुक्रबार बिहान घरमै नुहाएर पितृहरुलाई पारिवारिक चलन अनुसारको सामग्री चढाएर खरजितिया पर्व समापन गरिएको छ। खरजितियाको समापनको बिहान माडभात, दहीचिउरा, रोटी लगायत सामग्री तयार पारिन्छ। खरजितिया व्रतको समापनमा पितृलाई चढाउने सामग्रीलाई स्थानीय बज्जिका भाषामा ‘ओठरङ’ भनिन्छ।
बुधबार बिहान ‘नहाखाएके’ गरेर महिलाहरुले व्रतको शुरुआत गरेका थिए। नहाखाएके दिन घिउरा वा झिगनीको पातमा तेल र पिना चढाएका थिए, जसलाई तेलखरी चढाएको भनिन्छ। बिहीबार बिहान चार बजेतिर घरमै स्नान गरी व्रतालु महिलाहरुले लोकदेवता जित र लोकदेवी जितवाहनलाई झिगनीको पातमा दहीचिउरा चढाएका थिए। दिनभरि निराहार बसेर महिलाहरु बिहाबार साँझको समयमा नदी वा जलाशयमा स्नान गर्दै जित र जितवाहनका साथै चिल्होसियारिनलाई बेलपत्र तथा तेल चढाएर खरजितियाको मूल व्रत गरेका थिए।
सन्तान भएका हरेक महिलाले अनिवार्य रुपमा खरजितिया व्रत गर्नुपर्ने मान्यता छ। खरजितिया व्रत गर्नेले केही पनि काट्न तथा भाँच्न नहुने परम्परा छ। एउटा खर (सिन्को) पनि भाँच्न नहुने भएकाले यस व्रतको नाम खरजितिया रहन गएको हो।
कुनै पण्डित–पुरोहितको आवश्यकता नपर्ने खरजितिया व्रतको समापन व्रतालुहरुले केराउ र गाईको दूध खाएर गरेका छन्।
मधेशभरि जितिया र खरजितिया एकै दिन लगभग एकै किसिमले मनाइए पनि जितियाभन्दा खरजितिया व्रत अझ कठोर हुन्छ। जितिया पर्व मान्नेले कामधन्दा गर्न पाउने भए पनि खरजितिया व्रत गर्नेले कुनै पनि काम गर्न हुँदैन भन्ने मान्यता छ।