भारतमा ठूलो संख्यामा संक्रमित भेटिएको र मृत्यु भएको यी चार दिन
भारतमा कोरोनाभाइरसको संक्रमण दर तीव्र बनिरहेको छ। नयाँ संक्रमित थपिनुका साथै संक्रमणमुक्त हुनेको संख्या पनि दैनिक उल्लेख्य छ।
बिहीबार मात्रै त्यहाँ ९६ हजार ७६० संक्रमित भेटिएका छन्। योसँगै भारतभर कोरोना संक्रमितको कुल संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको छ। बिहीबार ७१ हजार संक्रमित निको हुँदा संक्रमणमुक्त हुनेको कुल संख्या ३५ लाख ३९ हजार ९८३ पुगिसकेको छ।
यस्तै, संक्रमणबाट भारतमा बिहीबार १ हजार २१३ जनाको मृत्यु भयो। हालसम्म त्यहाँ कोरोनाबाट ७६ हजार २८८ जनाको मृत्यु भइसकेको छ।
बिहीबारसहित ५ सेप्टेम्बर (२० भदौ) यताको चार दिन भारतमा नयाँ संक्रमित थपिने, संक्रमणमुक्त हुने र मृत्यु हुने संख्या अत्यधिक देखिएको छ।
२० भदौमा ९० हजार ६०० जना संक्रमित भेटिएका थिए भने ७३ हजार १६१ संक्रमित निको भएका थिए। उक्त दिन संक्रमणबाट १ हजार १३० जनाको मृत्यु भएको थियो। यस्तै, २१ भदौमा ९१ हजार ७२३ जना नयाँ संक्रमित थपिंदा ७४ हजार १२३ जना संक्रमणमुक्त भएका थिए। त्यो दिन १ हजार १२९ संक्रमित निको भएका थिए।
त्यसपछि २४ भदौमा ९५ हजार ५२९ नयाँ संक्रमित थपिएका थिए। उक्त दिन ७४ हजार ६०७ जना संक्रमणमुक्त भएका थिए भने १ हजार १६८ जनाको संक्रमणबाट मृत्यु भएको थियो।
२५ भदौ, बिहीबार पनि संक्रमित ९० हजार माथि थपिने र मृतकको संख्या १ हजार नाघ्ने सिलसिला कायम देखियो।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ९ लाख ४३ हजार ४३८ छ। जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ। - एजेन्सी