कोरोना अपडेटः संक्रमित निको हुने दर ७०.७ प्रतिशत पुग्यो, तर विज्ञहरु भन्छन्- जोखिम उस्तै छ
बिहिबारसम्म देशभर कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ। कूल संक्रमित ५० हजार ४६५ पुग्दा कोरोना संक्रमण मुक्त हुनेको संख्या पनि ३५ हजार ७०० पुगेको छ। यो कूल संक्रमितको ७०.७ प्रतिशत हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सार्वजनिक गरेको आँकडा हो यो। चार दिनअघि, २१ भदौसम्म २८ हजार ९४१ जना अर्थात् ६२.६ प्रतिशत संक्रमित निको भएका थिए। त्यति बेला उपचारत संक्रमित संख्या १७ हजार २७ थियो। १३ भदौमा संक्रमित निको हुने प्रतिशत ५५ थियो भने उपचाररत संक्रमितको संख्या ४४.४ प्रतिशत थियो। यो तथ्याङ्कले पछिल्ला दिनहरुमा निको हुने दर बढिरहेको र उपचाररत संक्रमित घटिरहेको देखाउँछ।
विज्ञहरु भन्छन्– जोखिम घटेको छैन
तर, जनस्वास्थ्य विज्ञहरु भने मन्त्रालयकै तथ्यांकका आधारमा पनि जोखिम बढ्ने क्रममै रहेको बताउँछन्। स्थानीय प्रशासनले भने ३ भदौदेखि राजधानी उपत्यकामा लगाइएको निषेधाज्ञा बिहीबारबाटै खुकुलो बनाएको छ।
विज्ञहरु निषेधाज्ञा खुकुलो बनाइएपछि स्वतः जोखिम बढ्ने बताउँछन्। तर, एकअर्का बीचको भौतिक दुरी कायम गर्दै जनस्वास्थ्यका आवश्यक मापदण्ड पालना गर्दा भने जोखिम कम गर्न सकिन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी संकलित स्वाब दश दिनसम्म कुराएर परीक्षण गराउने अवस्था कायमै रहेकाले जोखिम कम भएको मान्ने अवस्था नरहेको बताउँछन्।
“अझै पनि कट्याक्ट ट्रेसिङ गर्नमा लापरबाही भइरहेको छ। आज स्वाब संकलन गरेर भोलि नै रिजल्ट आउन सक्ने प्रणाली पनि बनाइएको छैन” डा. मरासिनी भन्छन्, “यस्तो अवस्थामा निको भएकाहरुको संख्या हेरेर मुलुकमा कोरोनाको जोखिम कम हुँदै गएको भन्न सक्ने अवस्था छैन।”
कोरोना संक्रमितहरुको पहिचान समेत राम्ररी नभएकाले जोखिम उत्तिकै रहेको उनी बताउँछन्। उनका अनुसार, संक्रमित कहाँबाट आएका हुन् भन्ने पहिचान गरिएकाे छैन।
तर, डा. मरासिनी बिहीबारसम्मको तथ्याङ्कले मुलुकमा कोरोनाको संक्रमण अझै ‘पिक’ मा नपुगेकाले आउने दिनहरु थप चुनौतिपूर्ण रहेको बताउँछन्।
“पछिल्ला दिनहरुमा कोरोना भीडभाड बढी भएको मत्स्येन्द्रनाथको जात्रा, ब्यांक तथा सरकारी कार्यालयहरुबाट फैलिन थालेको छ”, उनी भन्छन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला पनि केही दिन यता बढेको निको हुने दरलाई हेरेर जोखिम कम भएको भन्न नमिल्ने बताउँछन्। “सरकारले अवलम्बन गर्ने नीति तथा रणनीति र कोरोना रोकथामका लागि नागरिक स्तरमा गरिने अभ्यासले जोखिमको अवस्था निर्धारण हुन्छ”, उनी भन्छन्।
डा. बास्तोला निषेधाज्ञा खुकुलो भएपछि संक्रमित बिरामीहरु अस्पताल आउने क्रम बढ्न सक्ने र त्यसको तयारी सरकारले गर्नुपर्ने बताउँछन्। कोरोनाका कारण अधिकांश दीर्घरोगीको मृत्यु भएकाले यसबारे सचेत रहन पनि उनी सुझाव दिन्छन्।