रथयात्रा प्रकरणमा कहाँ चुक्यो प्रशासन ?
रातो मत्स्येन्द्रनाथ रथयात्रा प्रकरणलाई अति संवेदनशील सांस्कृतिक कर्म नभई जातीय द्वेष र घृणा फैलाउने तत्वका रूपमा जसरी परिभाषित गरियो, त्यसले समुदायबीच आपसी समझ अझ बढाउनुपर्ने सन्देश दिएको छ।
रातो मत्स्येन्द्रनाथको रथजात्राका सम्बन्धमा भदौको तेस्रो साता ललितपुरको पाटन क्षेत्र तनावपूर्ण रह्यो। रथ तान्ने अनुमति प्रशासनबाट नपाउनुलाई ‘आफ्नो संस्कृतिमा हस्तक्षेप’ को रूपमा बुझेका युवा जमातले जबर्जस्ती थालेको रथजात्रामा प्रहरीले बल प्रयोग गर्यो। परिणामस्वरुप अनिर्णित अवस्थामा रहेको रथजात्रा अन्ततः औपचारिक रूपमा स्थानीयकै भावनाअनुरुप सम्पन्न गर्न प्रशासन बाध्य भयो।
तत्कालका लागि रथयात्रा प्रकरण त साम्य भयो, तर यसले संस्कृतिका सम्बन्धमा भने गम्भीर प्रश्न खडा गरेको छ। यी प्रश्नमा संवेदनशील नहुनु भविष्यमा ठूलो दुर्घटना निम्त्याउनु हो।
कोभिड–१९ महामारीका कारण ११ चैतमा बन्दाबन्दी घोषणाअघि नै काठमाडौं उपत्यकाको महत्वपूर्ण चाड ‘पाहाँचर्हे’ प्रभावित भइसकेको थियो। यो चाडको अन्तिम ‘घोडेजात्रा’ का दिन औपचारिक रूपमै बन्दाबन्दी घोषणा भयो। कुनै तलवितल भएन।
यसको अर्थ के हो भने, नेवार समाजमा रहेका सांस्कृतिक गतिविधिहरू सधैं उस्तै पाराले अनिवार्य रूपमा चलाउनै पर्ने र तलमाथि पार्न हुँदैन भन्ने जडता छैन।
पाटनमा प्रत्येक वर्ष हुने रातो मत्स्येन्द्रनाथको रथजात्राको प्रारम्भिक काम ‘न्हवं लुइगु’ बन्दाबन्दीकै बीच २७ चैतमा सीमित स्थानीयको उपस्थिति र सामाजिक दूरी कायम राख्दै लगनखेलमा सम्पन्न भयो। महामारी फैलिएको, भीडभाड गर्न नहुने अवस्थामा रथजात्रा हुन्छ÷हुन्न भन्ने अन्योलमै रथ बनाउने तथा देवतालाई रथारोहण गराउने काम भयो। यी सम्पूर्ण काममा स्थानीय प्रशासन र गुठी संस्थानको संलग्नता थियो।
रथजात्रा कार्यक्रम ‘उठान’ भइसकेपछि उपयुक्त विधिले ‘बैठान’ पनि गर्नुपर्दछ भन्ने मनसाय स्थानीयको थियो। मलमासमा कुनै सांस्कृतिक काम गर्न नहुने, त्यसपछि दशैं आइहाल्ने हुनाले दशैंअघि नै रातो मत्स्येन्द्रनाथलाई बुंगमती पुर्याइसक्नुपर्ने भएकाले छोटो विधि अपनाएरै भए पनि जात्रा सम्पन्न गर्नुपर्ने बाध्यता थियो।
रथजात्रा कार्यक्रम ‘उठान’ भइसकेपछि उपयुक्त विधिले ‘बैठान’ पनि गर्नुपर्दछ भन्ने मनसाय स्थानीयको थियो। मलमासमा कुनै सांस्कृतिक काम गर्न नहुने, त्यसपछि दशैं आइहाल्ने हुनाले दशैंअघि नै रातो मत्स्येन्द्रनाथलाई बुंगमती पुर्याइसक्नुपर्ने भएकाले छोटो विधि अपनाएरै भए पनि जात्रा सम्पन्न गर्नुपर्ने बाध्यता थियो।
तर प्रशासन तथा गुठी संस्थानले कुनै पनि विकल्प वा सुझावमा ध्यान नै नदिई महामारीमा रथजात्रा गर्न नदिने एकोहोरो अडान राखिरह्यो। यसलाई स्थानीय समुदायले आफ्नो संस्कृतिमाथिको हेलचेक्र्याइँको रूपमा बुझ्यो।
अनुमति नपाए पनि रथजात्रा शुरू गर्ने मनसायले अघिल्लो दिन नै सार्वजनिक आह्वान गरेर स्थानीयहरू पुल्चोक पुगे। घन्टौं लगाएर तयारी गरे र रथलाई केही परसम्म पुर्याए। यी सबै चाजो मिलाउँदा मूकदर्शक प्रहरी त्यसपछि मात्र हूलमा प्रवेश गर्यो, झडप भयो।
सबैका निम्ति अप्रिय यस घटनालाई लिएर खासगरी सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरू झनै आपत्तिजनक भयो। सिंगो जाति विरुद्ध नै गाली गर्नुका साथै ‘ज्यान प्यारो कि संस्कृति? एक वर्ष जात्रा नमनाउँदा के हुन्छ र ?’ भन्ने जस्ता सतही स्वर पनि सुनिए।
रथजात्राको यो प्रकरणमा सम्भवतः धेरैले यो पंक्तिकारले झैं सम्झिरहेको एउटा नाम हुनुपर्छ– राजा पृथ्वीनारायण शाह। यो रथजात्रासँग यी राजाको कुनै सम्बन्ध छैन तर नेपाली संस्कृतिको प्रवृत्ति र शासकीय चरित्रलाई विश्लेषण गर्दा यी राजालाई कदापि भुल्नुहुँदैन।
गोरखाका राजा नरभूपाल शाहको राजनीतिक आँखा काठमाडौं उपत्यकामाथि थियो। त्यसैले उनले उपत्यकाको शिक्षादीक्षाको बन्दोबस्त तथा वस्तुस्थिति बुझ्न युवराज पृथ्वीनारायण शाहलाई भक्तपुर पठाएका थिए।
राजकुमारसँग मीत लगाएर भक्तपुर दरबार छिरेका पृथ्वीनारायणले यहाँ रहँदा बस्दा राजनीति, हावापानी मात्र होइन, स्थानीय नेवार समाजलाई पनि नजिकबाट नियाले। पछि उपत्यका विजयपछि पनि स्थानीय संस्कृतिलाई निरन्तरता दिनुलाई उनको यही सुझबुझ मान्न सकिन्छ।
प्रत्येक १२ वर्षमा स्वयम्भूको भुइँखेलमा मनाइने ‘सम्यकदान पर्व’मा गद्दीनसीन राजालाई बोधिसत्वका रूपमा लिई मुख्य अतिथिका रूपमा आमन्त्रण गर्ने परम्परा छ। तर, राजा फेरिएको अवस्थामा गुठियारबीच विवाद हुँदा पृथ्वीनारायणले विरोधीहरूलाई तह लगाउँदै पर्वलाई चलाउन दिएका थिए।
स्वदेशी संस्कृति सम्बन्धी पृथ्वीनारायणको नीति उनका उपदेशहरू संकलित ‘दिव्योपदेश’ मा पाइन्छ। उक्त उपदेशमा नेवार संस्कृति भनेर किटान नै गरेको भए पनि यसको आशय नेवार लगायत अन्य जातजातिको स्वदेशी संस्कृति भनेर बुझ्नुपर्ने हुन्छ।
पृथ्वीनारायणको स्थानीय संस्कृतिप्रतिको यस्तो नीतिलाई उनका उत्तराधिकारीहरूले पनि अवलम्बन गरेको पाइन्छ। तर, राणाकालमै यसलाई दक्खल दिन शुरू भयो। राजा महेन्द्रले त दक्खलमा आधारित नीति नै बनाए। र, गणतन्त्रमा पनि त्यो रोकिएको छैन।
गणतान्त्रिक शासन व्यवस्थाका शुरुआती दिनमै इन्द्रजात्रा हस्तक्षेप गरियो। तर, झुक्यो– सरकार। नेवार संस्कृतिको अस्तित्वमाथि प्रत्यक्ष सम्बन्ध राख्ने ‘गुठी विधेयक’ का विरुद्धको स्थानीयको प्रदर्शनले सरकारको सातो लियो। पछाडि हट्न बाध्य भयो– सरकार।
यसपटक पनि रथमा राखिसकिएको देवतालाई बीच बाटोमा तमासाको विषय नबनाइयोस् र औपचारिक विधि मात्रै पु¥याएर भए पनि समापन गर्न दिइयोस् भन्दै स्थानीय निवेदन लिएर राष्ट्रपतिसमक्ष पनि पुगेका थिए। तर, कतैबाट पनि सुनुवाइ नभएपछि असन्तुष्ट स्थानीय रथ तान्न तम्सिए। अन्ततः सरकार यहाँ पनि छोटकरी विधिबाटै रथजात्रा सम्पन्न गर्न सहमत भयो।
नेपाल विभिन्न जातजाति र धर्म संस्कृति तथा परम्परा भएको देश हो, जसको आस्था, विश्वास मात्र होइन अस्तित्वका आधार समेत फरक फरक हुनसक्छ। धर्म, संस्कृति, सम्पदा तथा परम्पराको संरक्षणका लागि राज्यले विभिन्न निकाय त खडा गरेको छ। तर, ती निकायहरूमा विषयवस्तुसँग असम्बन्धित व्यक्तिहरूकै बोलवाला हुने गर्दछ। न त पदासीन ती अधिकारीहरूले विषयविज्ञसँग परामर्श लिन नै आवश्यक ठान्दछन्।
संस्कृतिको बुझाइमा नेपाली–नेपाली बीच नै दूरी रहेको कुरा रातो मत्स्येन्द्रनाथको रथजात्रा प्रकरणमा पनि छताछुल्ल भयो। कोरोनाकालमा ‘ज्यान प्यारो कि संस्कृति ? एक वर्ष जात्रा नमनाउँदा के हुन्छ र ?’ भन्ने जस्ता सतही स्वर पनि सुनिए।
सिंगो नेवार समुदायमाथि बर्बर, असभ्य, अशिक्षित भनी लाञ्छना लगाउने काम कतिपय बुद्धिजीवीबाट समेत भयो। बलेको आगोमा घिउ थप्ने र जातीय द्वेष फैलाउने प्रयत्न पनि भए।
रथजात्राका क्रममा भएको झडपमा एक ट्राफिक प्रहरीमाथि आक्रोशित भीडले गरेको कुटपिट निश्चिय पनि निन्दनीय हो। तर, सबैका निम्ति अप्रिय यस घटनालाई लिएर खासगरी सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरू झनै आपत्तिजनक भयो। सिंगो नेवार समुदायमाथि बर्बर, असभ्य, अशिक्षित भनी लाञ्छना लगाउने काम कतिपय बुद्धिजीवीबाट समेत भयो। बलेको आगोमा घिउ थप्ने र जातीय द्वेष फैलाउने प्रयत्न पनि भए।
रथयात्राका प्रकरणमा हतारमा भावनात्मक अभिव्यक्ति दिनुअघि उत्तिकै संवेदनशीलताका साथ घटना पूर्व र घटना भएको समयको अवस्था, स्थानीयको मनोविज्ञानलाई समेत विश्लेषण गरिनुपर्दछ। र, यस दिशामा सरकार गम्भीर हुन नसके पनि बौद्धिक क्षेत्र, नागरिक समाजले वस्तुनिष्ठ कुरा बुझ्ने अनि बुझाउने गर्नुपर्छ। यो उनीहरूको सामाजिक उत्तरदायित्व पनि हो, जसलाई यो रथयात्राले पुनः स्मरण गराएको हुनुपर्छ।