ब्यांकका ‘पर्दा पछाडिका’ लगानीकर्ताको परिचय खुलाउन राष्ट्र ब्यांककाे निर्देशन
अर्बपति व्यवसायी विनोद चौधरीको नबिल ब्यांकसँगै एनएमबी ब्यांकमा रहेको मलेसियाली कम्पनीको छद्म लगानी खुलाउन पटकपटक पत्र काटेको केन्द्रीय ब्यांकले अब त्यो विवरण नियमित रूपमा बुझाउनैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ।
नेपाल राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थामा लगानी गरेका पर्दापछाडिका लगानीकर्ता खोज्न नयाँ नीतिगत व्यवस्था अघि सारेको छ। कतिपय ब्यांक तथा वित्तीय संस्थामा प्रष्ट नदेखिने गरी घुमाउरो बाटोबाट भएको छद्म लगानीलाई खुलाउन केन्द्रीय ब्यांकले एकीकृत निर्देशनमार्फत नयाँ प्रावधान लागू गरेको हो।
गएको मंगलबार केन्द्रीय ब्यांकले जारी गरेको एकीकृत निर्देशन अनुसार अब ब्यांक तथा वित्तीय संस्थाले आफ्ना लगानीकर्ता, संस्थाको अन्तिम हिताधिकारी व्यक्तिको विवरण सम्बन्धित देशका आधिकारिक निकायबाट प्रमाणित गराएर आर्थिक वर्ष समाप्त भएको ९० दिनभित्र राष्ट्र ब्यांकमा बुझाउनुपर्छ।
राष्ट्र ब्यांकको निर्देशनमा भनिएको छ, “ब्यांक तथा वित्तीय संस्थाको सेयर धारण गर्ने फर्म/कम्पनी/संस्थाको अन्तिम हिताधिकारी प्राकृतिक व्यक्ति पहिचान हुने विवरण सम्बन्धित मुलुकको आधिकारिक निकायबाट प्रमाणित गराई प्रत्येक आर्थिक वर्ष समाप्त भएको ९० दिन भित्र राष्ट्र ब्यांकमा अभिलेखीकरण गर्नुपर्नेछ।”
घुमाउरो बाटोबाट नेपालका ब्यांक तथा वित्तीय संस्थामा गरिएको लगानीमाथि कडाई गर्न राष्ट्र ब्यांकले यस्तो प्रावधान अघि सारेको हो। केन्द्रीय ब्यांकले ब्यांक तथा वित्तीय संस्थामा लगानी गरेका विदेशी गैर ब्यांकिङ संस्थाबाट मात्र यस्तो अन्तिम हिताधिकारीको विवरण मागेको हो।
नेपालका ब्यांक तथा वित्तीय संस्थामा विदेशस्थित ब्यांक तथा वित्तीय संस्थाले लगानी गरेको भएमा चाहिँ सोही संस्थाको विवरण अभिलेखीकरण गर्दा पुग्ने व्यवस्था गरिएको छ।
राष्ट्र ब्यांकको यो निर्देशन मूलतः नबिल ब्यांक र एनएमबी ब्यांकमा लगानी गरेका दुई विदेशी संस्थाका अन्तिम हिताधिकारी को हुन् भनेर खोजी गर्न लक्ष्यित देखिन्छ। नबिल ब्यांकमा बांग्लादेशमा रहेको भनिएको एनबी इन्टरनेशनलको ५० प्रतिशत शेयर छ। यो आयरल्याण्डको एनबी इन्टरनेशनल अन्तर्गत छ। आयरल्याण्डको एनबी इन्टरनेशनल पनि ट्याक्स हेभन भनेर चिनिएको देश, पानामामा रहेको साउथ एशिया फाइनान्सियल कर्पोरेसन अन्तर्गत सञ्चालित छ।
यसको अन्तिम जरो सिजी इन्नोभेसन, सिंगापुरमा पुगेर जोडिन्छ। अर्बपति व्यवसायी तथा सांसद विनोद चौधरीले नेपालको कानूनले रोकेपछि बांग्लादेशी कम्पनीमार्फत् नबिल ब्यांकमा घुमाउरो ढंगमा लगानी गरेको आफ्नो आत्मकथामा उल्लेख गरेका छन्।
एउटा देशमा रहेको कम्पनीलाई अर्को देशमा रहेको कम्पनीले आफ्नो अधिनस्थ सञ्चालन गरेको यस्तो जञ्जाल जे जस्तो भए पनि त्यसको अन्तिम हिताधिकारी अर्थात प्राकृतिक व्यक्ति को हुन्? राष्ट्र ब्यांकले यही कुरा सम्बन्धित देशको आधिकारिक निकायबाट प्रमाणित गरी बुझाउन निर्देशन दिएको हो।
त्यस्तै अर्को ब्यांक, एनएमबी ब्यांकमा पनि यंग लियन रियल्टी एसडीएन विएचडी, मलेसिया नामको कम्पनीको ५.२३ प्रतिशत शेयर लगानी रहेको छ। यो पनि गैर वित्तीय संस्था भएकाले यसका वास्तविक लगानीकर्ता को हुन् भनेर अब केन्द्रीय ब्यांकमा विवरण बुझाउनुपर्नेछ। यो प्रावधानअनुसार, ब्यांक तथा वित्तीय संस्थामा अन्य देशका संस्था वा देशभित्रकैसंस्थाले लगानी गरेको भएमा त्यसका वास्तविक लगानीकर्ताको पनि परिचय खुलाएर राष्ट्र ब्यांकमा बुझाउनुपर्ने हुन्छ।
यसअघि पनि केन्द्रीय ब्यांकले पटक–पटक नबिल ब्यांक र एनएमबी ब्यांकमा शेयर लगानी गरेका विदेशी संस्थाका वास्तविक लगानीकर्ता को हुन् भनेर खुलाउन पत्र काटेको थियो। गत साउनमा पनि राष्ट्र ब्यांकले नबिल ब्यांकमा लगानी रहेको एनबी इन्टरनेशलका वास्तविक लगानीकर्ता अर्थात अन्तिम हिताधिकारीको विवरण माग्दै पत्र पठाएको थियो।
विभिन्न ब्यांक तथा वित्तीय संस्थामा लगानी गरेका संस्थाका वास्तविक लगानीकर्ता वा अन्तिम हिताधिकारीको विवरण खुल्ने गरी नआएको वा झुक्याइएको हुन सक्ने आशंकापछि निर्देशन नै जारी गरिएको र यसलाई कानुनी प्रावधानका रुपमा लागू गरिएको केन्द्रीय ब्यांकका एक अधिकारीले हिमालखबरलाई बताए। “सम्बन्धित देशको आधिकारिक निकायबाट प्रमाणित गरी उपलब्ध गराउनुपर्ने भएकाले अब वास्तविक लगानीकर्ता को हुन् भन्ने खुल्छ”, ती अधिकारीले भने।
नबिल ब्यांकको ९१ हजार डलर लाभांश फर्कियो
राष्ट्र ब्यांकले गएको साउन महीनामा नबिल ब्यांकलाई पत्र पठाएर सो ब्यांकमा शेयर लगानी गरेको एनबी इन्टरनेशनलको अन्तिम हिताधिकारीको विवरण मागेको थियो। त्यसैगरी, उनीहरु नेपाली नागरिक भएमा विगतका वर्षहरुमा बुझेको लाभांश कति स्वदेश फिर्ता भयो भन्ने विवरणसमेत मागेको थियो। राष्ट्र ब्यांकको पत्रपछि एनबी इन्टरनेशनलका अन्तिम हिताधिकारीमध्येका एक अर्बपति व्यवसायी विनोद चौधरीले करिब ९१ हजार अमेरिकी डलर (करिब रु. १ करोड ९ लाख) फिर्ता ल्याएको केन्द्रीय ब्यांकका एक अधिकारीले बताए।
नेपालको कानून अनुसार नेपाली नागरिकले विदेशमा लगानी गर्न बन्देज छ। चौधरीले सिजी इन्नोभेसनमार्फत् केही निःशुल्क शेयर प्राप्त गरेको दाबीसहित सोको लाभांश डलरका रुपमा विदेशमैं बुझ्दै आएका थिए। तर, राष्ट्र ब्यांकले नेपाली नागरिकले सो लाभाशं स्वदेश नै फिर्ता ल्याउनुपर्ने भनेपछि चौधरीले यो रकम फिर्ता ल्याएको केन्द्रीय ब्यांक स्रोत बताउँछ।