दूरसञ्चार प्राधिकरणकै अधिकारी भन्छन्- तत्काल 'फाइभजी' सेवा आवश्यक छैन
चौथो पुस्ताको मोबाइल इन्टरनेट फोरजीको प्रयोग बढ्न थालेको र सेवा प्रदायकले देशैभर पहुँच पुर्याउँदै गरेकोले नेपालमा तत्कालै फाइभजीको आवश्यक नपरेको नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीले नै बताएका छन्।
अन्तर्राष्ट्रिय बजारमा फाइभजी आइसकेको भएपनि नेपालमा समेत अहिलेको फोरजी भन्दा उच्च गतिको मोबाइल डाटाको बहस चल्न थालेकोले पहिले भएकै फोरजीको प्रयोग भरपूर हुन नसकेको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक इन्जिनियर विजयकुमार रोयले बताए।
रोयले भने, ‘‘फोरजी डेटा देशैभर पुग्न बाँकी रहेको र सहरी क्षेत्रमा सेवा पुगिसकेको भएपनि अझै युवापुस्ताले यसको भरपूर प्रयोग गर्न नसकेकोले अहिले नै फाइभजी आवश्यक छैन्।’’
रोयले भने ‘‘फोरजी डाटाकै प्रयोग पूर्ण रुपले देशैभरी पुगिनसकेको अवस्थामा फाइभजी के का लागि ?’’ फोरजीको प्रयोग बढ्दै गएसँगै सेवाप्रदायकले पनि देशैभर पहुँच विस्तार गर्दै छन् ।त्यसैले तत्काल फाइभजीको आवश्यक नदेखिएको रोयले बताएका छन्।
दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकोले अबका दिनमा पहिलो प्राथमिकता कन्टेन्टमा हुनु पर्नेमा पनि दूरसञ्चारक्षेत्रका सरोकारवालाहरुको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र बन्दाबन्दी अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकोले कन्टेन्टमा लगानी बढाउन आवश्यक देखिएको सरोकारावालाहरुले बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कोभिड महामारीमा दूरसञ्चार क्षेत्रले खेलेको भूमिका, प्रभाव र अबको बाटो के हुने भन्ने विषयमा भएको भर्चुअल अन्तरक्रियामा वक्ताहरुले ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जन जस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले कन्टेन्ट सुधारमा जानु आवश्यक भएको बताए ।
रोयले भने ‘‘लकडाउनकै समयमा पनि अपवाह फैलाउने खालका कार्य गरेकोले केही अनलाइनलाई प्रेस काउन्सिलको सहकार्यमा बन्द गराएको, साइवर निर्देशिका कार्यान्वयनमा ल्याएको तथा ईशिक्षा प्याकेजमा पनि प्राधिकरणले काम गरेको छ।’’
कोभिडका समयमा सेवा प्रदायक कम्पनीहरुको सक्रियताका कारण ग्राहकको गुनासो अपेक्षाकृत रुपमा नआएकोपनि रोयले सुनाए।
कोभिड कारण डाटा उपभोग सहरी क्षेत्रमा अत्याधिक बढेको र ग्रामीण क्षेत्रमा कनेक्टिभिकै समस्या रहकोले डिजिटल डिभाइसको समस्या बढेर जाने आशंका गरिएको छ।
ग्रामीण दूरसञ्चार विज्ञ पवन शाक्यले भने ‘‘शहरको तुलनामा गाउँमा केनेक्टिभी र कनेन्ट दुबैको अवस्था दयनीय भएको बताए। शहरमा सेवा छनोटको अवसर छ, कन्टेन्टमा पनि खोज्न र बुझ्न सक्ने जनमानस धेरै छन् त्यसैले अबको फोकस ग्रामीण क्षेत्रमा गर्नुपर्ने अवस्था आएको देखिएको छ।’’
नेपाल टेलिकममा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कनेक्टिभिटीको सवालमा कर्णाली प्रदेश, हिमाल, र उच्च पहाडी भेगमा प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरसञ्चार कोष परिचालन गरी कनेन्टिभिटीमा सहजीकरण गरिनुपर्ने बताए। धेरै बस्ती भएको क्षेत्रमा सेवा प्रदायक आफैँले सेवा विस्तार गर्छन् जहाँ अप्ठेरो छ त्यो ठाउँमा सरकारले सहजीकरण गर्नुपर्ने अधिकारीको भनाइ छ ।
अधिकारीले भने, ‘‘दूरसञ्चार कोषको रकम ग्रामीण क्षेत्रकै लागि भनेर सबै सेवा प्रदायकबाट आम्दानीको दुई प्रतिशत रकम जम्मा गर्ने गरकोले सो रकम निर्धारित काममै खर्च गर्नुपर्छ।’’ हाल यो कोषको रकम सरकारले चालू खातामा जम्मा गरेको छ। ग्रामीण क्षेत्रमा कोषको रकम उच्चतम प्रयोग गर्न सकियो भने कन्टेन्टमा पनि एक चरण पार गर्न सहज हुने उनको अनुभव छ।
एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले कोभिडपछि ग्राहकहरुमा सेवा लिने प्रवृत्ति परिवर्तन भएको बताए। डाटा सेवा प्रयोग बढेको भन्दै अब एनसेलले यसमा लक्षित गरी आफ्ना कार्यक्रमहरु ल्याउने तयारी गरेको उनले जानकारी दिए। पछिल्लो प्रविधि फाइभजीमा पनि केही सकारात्मक प्रविधिको विकासलाई नपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने खालको संकेत एन्डीले दिए।
एन्डीले भने, ‘‘कोभिडका समयमा सरकारसँग नजिक रहेर काम गरेको तथा सहयोग रकमसमेत उपलव्ध गराइएको छ। व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत स्कुल शिक्षा, स्वाथ्य सामग्री, कोभिड सम्बन्धी जनचेतना, फ्रन्टलाइनमा बसेर काम गर्नेहरुलाई सिमकार्ड वितरण लगायतका काम पनि भएको छ।’’
इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले लकडाउनमा इन्टरनेट व्याण्डविथ खपत ४० प्रतिशतसम्म बृद्धि भएको भन्दै उपभोक्ताको रुचि र प्रयोग फेरिएको बताउँछन्। पछिल्लो समयमा चर्चित बनेको सामाजिक सञ्जाल टिकटकले सेवा प्रदयाकहरुलाई व्याण्डविथ व्यवस्थापनमा धौधौ परेको भन्दै यसमा केही सोच्न पनि नियामक निकायसमक्ष भट्टले आग्रह गरे।