वीरगञ्जमा घट्दै कोरोना संक्रमण दर, निषेधाज्ञा जारी रहे पनि दिउँसो बजार खुल्ने
पर्सामा सात जनामा बिहीबार संक्रमण पुष्टि भएको छ। बुधबार लिएको स्वाब रिपोर्ट बिहीबार आएको थियो। संक्रमित सबै बीरगञ्ज महानगरपालिकाका हुन्।
२३ भदौमा ११ जनामा संक्रमण पुष्टि भएको थियो। जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत् दैनिक कोरोना संक्रमितको विवरण सार्वजनिक गर्ने गरेको छ। आजसम्म पर्सामा संक्रमित संख्या २,४२७ पुगेको छ।
३० चैतमा पहिलो संक्रमित देखिएको पर्सामा करीब डेढ हप्तादेखि संक्रमण दर घटिरहेको छ। पर्सामा चैतको शुरुदेखि जेठमसान्तसम्म संक्रमित बढेको थियो। तर, करिब एक महीना कम भएपनि फेरि असार अन्त्यतिर फेरि बढ्यो।
१ साउनमा एकैदिन १४३ जनामा संक्रमण पुष्टि भएको थियो। पर्साको सबैभन्दा बढी प्रभावित भएको वीरगंज महानगरपालिकाका मेयर, तीन जना वडाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिृकत सहित ५० जना कर्मचारी संक्रमित भए।
ती मध्ये धेरै जना निको भएपनि केही कर्मचारी अझै आइसोलेसनमा छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलाका अनुसार, संक्रमित घट्दै गएपनि जोखिमबाट जोगिने विधि अपनाउनुपर्ने बताउँछन्।
बिहीबार साँझसम्म पर्सामा कुल संक्रमित संख्या २४२७ छ। त्यस मध्ये १८७७ पुरुष र ५५० महिला छन्। संक्रमित निको हुने संख्या १६३० पुगेको छ।
आज मात्रै ४९ जना निको भएका छन्। घरमै उपचारत संक्रमित संख्या ३५ जना छन्।
पर्सामा २४ जना भारतीय नागरिक सहित १४१ स्वास्थ्यकर्मी, १२४ सुरक्षाकर्मी, १४ पत्रकार, १०७ कैदी थुनुवा, ४९ अस्पताल सफाइकर्मी, गार्ड तथा कार्यालय सहयोगी र तीन जना एम्बुलेन्स चालक छन्।
पर्सामा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव पनि संक्रमित दर भने घटेर गएको बताउँछन्। उच्च सतर्कता अपनाएकैले संक्रमणदर घटेर गएको उनी बताउँछन्। श्रीवास्तव भन्छन्, “दैनिक पाँच सयबाट तीन सयको हाराहारीमा परीक्षण भइरहेको छ। त्यस मध्ये केही बारा र रौतहटतिरका समेत छन्।”
निषेधाज्ञा यथावत, दिउँसो बजार खुल्ने
जिल्ला सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्ज महानगरपालिकामा ३१ भदौसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ।
निषेधाज्ञा कायम रहेपनि गत सातादेखि बजार तथा पसल आलोपालो प्रणालीमा खुल्दै आएको थियो। तर, अब भने बिहान ११ बजेदेखि दिउँसो चार बजेसम्म बजार खुल्ने भएको छ। तर, शनिबार भने बन्द हुनेछ।