विश्व ब्यांक भन्छ- नेपालमा एक दशकमा ४० लाख रोजगारी सिर्जना भयो
अर्थतन्त्रको सुस्त विस्तारका बावजूद गत एक दशकमा नेपालमा झण्डै ४० लाख नयाँ रोजगारी सिर्जना भएको विश्व ब्यांकको एक अध्ययनले देखाएको छ। नेपालमा रोजगारीको विषयमा ब्यांकले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार बितेका १० वर्षमा औसत रोजगारीको गुणस्तरमा पनि अर्थपूर्ण सुधार भएको छ।
नेपालबाट वार्षिक ४ लाख भन्दा बढी युवा रोजगारी खोज्दै विदेश पुग्ने तथ्यका बीच विश्व ब्यांकले भने हरेक वर्ष देशभित्र औसतमा ४ लाख नयाँ रोजगारीको अवसर सिर्जना भइरहेको तथ्यांक सार्वजनिक गरेको हो।
यद्यपि, ब्यांकले सिर्जना भएका रोजगारीलाई अझ गुणस्तरीय, स्थिर तथा राम्रो सेवा सुविधासहितको बनाउन आवश्यक रहेको उल्लेख गरेको छ।
नेपालको कृषिमा आधारित अर्थप्रणाली क्रमशः आधुनिक उद्योग र सेवा क्षेत्रमा रुपान्तरण हुँदै गएसँगै गुणस्तरीय कामका अवसरहरु खुलेका हुन्।
कामका अवसर बढेपनि सबै बेरोजगारले रोजगारीको अवसर भने पाउन नसकेको र खासगरी महिलाले अवसर नपाएको विश्व ब्यांकले उल्लेख गरेको छ।
गत दशकमा ठूलो संख्यामा पुरुषले निर्माण, उत्पादन, व्यापार तथा यातायात क्षेत्रमा काम पाएको वा वैदेशिक रोजगारका लागि विदेशिएको प्रतिवेदनमा उल्लेख छ। यस्ता रोजगारीका अवसरहरु अनौपचारिक तथा छोटो अवधिका भएपनि विगतको खेतीपातीको भन्दा राम्रो रहेकाले उनीहरुको जीवनस्तरमा सुधार गरेको उल्लेख गरिएको छ।
कुल रोजगारी मध्ये सन् २००८ मा १७ प्रतिशत रहेको नियमित तलबी रोजगारी सन् २०१८ सम्ममा आइपुग्दा २४ प्रतिशत पुगेको जनाइएको छ।
यसबीचमा सिर्जना भएका कुल रोजगारीमध्ये आधाजसो तलबी कामदार छन्। “संसारका अन्य देशमा जस्तै नेपालमा पनि तलबी रोजगारीको अवसरमा भएको वृद्धिले अर्थतन्त्रको विस्तारमा आधारभूत परिवर्तन ल्याएको छ, उत्पादन गतिविधिमा आएको विविधीकरणसँगै रोजगारी थप विशिष्ट र बढी उत्पादनमूलक हुन्छ,” प्रतिवेदनकी मुल लेखक तथा विश्व ब्यांककी प्रमुख अर्थशास्त्री डा. एलिजाबेथ रुपर्ट बुल्मरले उल्लेख गरेकी छिन्।
नेपालका विभिन्न श्रमशक्ति सर्वेक्षण तथा सन् २०१९ मा ६ जिल्लाका ९०० साना तथा मझौला व्यवसायमा गरिएको सर्वेक्षणले नेपालमा थप गुणस्तरीय रोजगारीको सिर्जना हुन नसक्नुमा विभिन्न कारणहरुलाई अवरोधका रुपमा औंल्याएको छ। यसमध्ये एउटा प्रमुख अवरोधमा नेपालको जटिल भौगोलिक अवस्थिति रहेको, जसका कारण रोजगारीको पहुँच तथा उत्पादनको लागत बढाएको उल्लेख छ।
अधिकांश रोजगारी अनौपचारिक तथा न्यून उत्पादनमूलक क्षेत्रमा केन्द्रीकृत रहेको, निर्यात गरेर अन्तर्राष्ट्रिय बजारसम्म जोडिनेभन्दा स्थानीय बजारमा मात्र आधारित रहेका एक वा दुई जनासम्मलाई रोजगारी दिने साना व्यवसाय बढी रहेको प्रतिवेदनले औल्याएको छ। अधिक कर, कर प्रशासनको झमेला, प्रशासनिक असहयोग, सीपयुक्त जनशक्तिको अभाव आदिका कारण यी साना व्यवसाय थप विस्तार हुन नसकेको विश्व ब्यांकले उल्लेख गरेको छ।