भोको पेटलाई रोकेन कोरोना–त्रासले, काम खोज्दै फेरि भारत जान थाले युवा
कैलाली- कोरोनाभाइरस संक्रमण महामारी फैलिएपछि चैत महीनायता सुदूरपश्चिम प्रदेशको गौरीफन्टा नाका भएर दुई लाख ८१ हजार ६१९ नेपाली प्रवेश गरेका थिए। त्यस वेला भारतमा कोरोना संक्रमण बढिरहँदा रोगको डर र काम गुमाएका कारण फर्कनेहरूको लस्कर नै थियो।
अहिले फेरि त्यस्तै लस्कर सीमा नाकामा देखिन थालेको छ, जुन भारततिर सोझिएको छ। सीमापारि कोरोना संक्रमण अनियन्त्रित रहेकै अवस्थामा रोजगारीका लागि फेरि भारत जाने युवाहरूको ताँती लाग्न थालेको छ।
नेपालमा बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक क्रियाकलाप सुस्ताउँदा रोजगारी पाउने छेकछन्द नदेखेपछि युवाहरू फेरि भारत जाने क्रम शुरू भएको हो। दिल्ली जान गौरीफन्टा नाका पुगेका बाजुराका १८ वर्षीय राजेश थापाले भने, “नेपालमा रोजगारी नै पाइएन, पेट भोको भएपछि कोरोनाको के डर?”
दिल्ली जान गौरीफन्टा नाका पुगेका बाजुराका १८ वर्षीय राजेश थापाले भने, “नेपालमा रोजगारी नै पाइएन, पेट भोको भएपछि कोरोनाको के डर?”
उनी दुई वर्षदेखि बुवासँगै भारतमा रोजगारी गर्दै आएका थिए। गत जेठको अन्तिम साता नेपाल फर्केका उनी कमाइको बाटो नभएपछि फेरि भारत जान बाध्य भएको बताउँछन्। “बुवा अलि बूढो हुनुभएकाले उहाँलाई घरमै आराम गर्न भनेर म साथीहरुसँग हिंडेको हुँ”, उनले भने, “पहिले काम गरेकै रेष्टुरेन्टका साहुले आधारकार्ड पठाइदिएपछि त्यहीं काम गर्न जाँदैछु।”
भारतको आधारकार्ड हुनेलाई मात्र भारतीय सुरक्षाकर्मीले प्रवेश दिने गरेका छन्। आधार कार्ड नभएकाहरू पनि काम गर्ने ठाउँका ‘मालिक’ नाकामै आएमा भारत पस्न पाउँछन्।
सुर्खेतको लेकबेसीका रणबहादुर राईसहित १५ जनाको समूह यसै साता गौरीफन्टा नाका भएर भारतको सिमला गए। त्यहाँ यतिवेला स्याउ टिप्ने काम पाइन्छ। बन्दाबन्दीको वेला चैतमा नेपाल फर्केका राईले भने, “भोकले मर्नु भन्दा बरु कोरोना पचाइन्छ भन्ने सोचेर मजदूरीका लागि हिंडेको हुँ।”
सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै युवा स्याउ टिप्ने कामका लागि सिमला जान थालेका छन्।
भारतबाट स्वदेश फर्कनेको तुलनामा रोजगारीका लागि सीमापारि जानेको संख्या कैयौं गुणा बढी छ। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्यांक अनुसार, गौरीफन्टा र गड्डाचौकी नाका भएर १७ भदौदेखि २३ गतेसम्म भारतबाट नेपाल फर्किनेको संख्या २ हजार ५८४ छ भने सोही अवधिमा २४ हजार ४३५ जना भारत गएका छन्।
कञ्चनपुरको डोकेबजारस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भूपाल थापाका अनुसार, गौरीफन्टा नाका भएर दैनिक एक हजार जना भारत गइरहेका छन्।
काम खोज्न भासिंदैछन् युवा, मन्त्रालय भन्छ– स्वरोजगारका कार्यक्रम ल्याएका छौं
कामको खोजीमा युवाहरू ताँती लागेर भारत गइरहँदा सुदूरपश्चिम प्रदेश सरकारले युवा शक्तिलाई रोजगारीमा आश्वस्त पारेर रोक्न सकेको छैन। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरी भने विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी चालू आर्थिक वर्ष २०७७/२०७८ मा स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको बताउँछिन्।
मन्त्री चौधरीका अनुसार, कृषि क्षेत्रमा केही गर्न चाहने व्यक्तिलाई प्रदेशको ९ वटै जिल्लाका ८८ वटै स्थानीय तहबाट इच्छापत्र हाल्न आह्वान गरिएको छ। “अहिलको परिस्थितिमा विदेशबाट फर्केका, स्वदेशमै पनि रोजगारी गुमाएकालाई स्वरोजगार बनाउन सकिने योजना अनुसार कृषि क्षेत्रबाट मात्रै विभिन्न कार्यक्रमबाट ९ हजार जनालाई अनुदान दिने कार्यक्रम ल्याएका छौं”, उनले भनिन्।
मन्त्रालयले तरकारी तथा फलफूलखेती, च्याउ खेती, गाईभैंसी पालन, मौरीपालन, बंगुरपालन, माछापालन, स्थानीय कुखुरा र हाँस लगायत अन्य मासुजन्य पन्छीपालन, नर्सरी तथा पुष्प व्यवसाय र अन्य गरी १० प्रकारका कृषि क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिलाई अनुदान दिने उद्देश्यले सूचना जारी गरेको छ। मन्त्रालयले पशुपन्छी तथा कृषि एकीकृत कार्यक्रमको लागि मात्रै रु.१६ करोड बजेट विनियोजन गरेको जनाएको छ।