पत्रकार वीरेन्द्र साह हत्याका अभियुक्त १३ वर्षपछि पक्राउ
बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न भनिएका पाँच अभियुक्तमध्ये चौंथो आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। बाराको महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेललाई प्रहरीले आज पक्राउ गरेको हो।
हत्याका पाँच आरोपीमध्ये चार जना आरोपीलाई पक्राउ गर्न प्रहरीलाई १३ वर्ष लागेको छ। आज दिउँसो साढे २ बजे कोल्हवी नगरपालिका–४ सपही टोलबाट पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।
यसअघि प्रहरीले तीन जना अभियुक्तलाई पक्राउ गरिसकेको छ। बारा ईनर्वासिरा गाविस (साविक)–९ बस्ने मनेजर गिरीलाई १९ असोज २०६५ र बाराकै साविक खोपवा गाविस–८ बस्ने राम एकवाल सहनीलाई २१ पुस २०६५ मा पक्राउ परेका थिए। उनीहरू दुवै जनालाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइसकेको छ।
त्यस्तै, बारा साविक गडहल–५ बस्ने कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदार अघिल्लो वर्ष, २५ फागुन २०७६ मा पक्राउ परेका थिए। उनलाई बारा जिल्ला अदालतमा २९ फागुन मा पेश गरिएकोमा अदालतको आदेशले पूर्पक्षका लागि कारागार चलान भएका छन्।
बारा जिल्ला अदालतको १७ जेठ २०६८, पुनरावेदन अदालत हेटौंडाको १६ साउन २०६९ र सर्वोच्च अदालतको २० पुस २०७३ को फैसलाले अभियुक्त हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीको हकमा फरार करार गरी मुद्दा मुल्तबिमा राखिएको थियो।
बारा प्रहरीले आज लुकिछिपि बसेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरेको छ। आवश्यक प्रकृया पुर्याई बारा जिल्ला अदालतमा पेश गरिने एसपी पंगेनी बताउँछन। साहको हत्याका आरोपी लालबहादुर चौधरी धामी अझै पक्राउ परेका छैनन्। उनीहरूले गोली हानी मारेर पत्रकार साहको शव जंगलमा खाल्टो खनि गाडेका थिए।
१८ असोज २०६४ मा बारा इनर्वासिरा–८ बस्ने ३४ वर्षीय पत्रकार साह अपरणमा परेका थिए। उम्जन गाविस पिप्रा बसतपुरबाट उनलाई अपहरण गरिएको थियो। पत्रकार साहको शव सोही वर्षको २२ कात्तिकमा साविकको डुमरवाना–७ स्थित जंगलमा खाल्डो खनि गाडेको अवस्थामा फेला परेको थियो। टाँगियाबस्ती नजिकै गाडिएको शवसँगै गाडिएको डटपेन र डायरी अहिले पनि नेपाल पत्रकार महासंघमा राखिएको छ।
साह त्यतिखेर एभिन्यूज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा बारा जिल्लाबाट खबर पठाउँथे। उनी तत्कालीन नेकपा (एमाले) निकटको पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत थिए। साहको हत्या भएपछि दोषीमाथि कारबाहीको माग गर्दै देशभरका पत्रकार आन्दोलनमा उत्रिएका थिए। पत्रकार हत्याको घटनाले अन्तराष्ट्रिय सञ्चारमाध्यममा समेत चर्चा पाएको थियो।
नेपाल पत्रकार महासंघले घटनाबारे अध्ययन गर्न गठन गरेको टोलीले २३ असोज २०६४ मा काठमाडौंमा पत्रकार सम्मेलन गरेर साहको अपहरण तत्कालीन नेकपा (माओवादी) ले गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो।