१ असोजदेखि ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ लागू गराउन शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ लागू गराउन निर्देशन दिएको छ। १ असोजदेखि निर्देशिका बमोजिम विद्यार्थीको सिकाइ सहजीकरण गर्न/गराउन सबै संघ, प्रदेश र स्थानीय तह सम्बद्ध निकाय तथा सरोकारवालाहरूलाई मन्त्रालयले निर्देशन जारी गरेको हो।
कोरोनाभाइरस संक्रमण फैलँदै जाँदा विद्यालय खुल्ने अनिश्चितता बढ्दै गएपछि मन्त्रालयले विद्यार्थीको सिकाइ प्रणाली नियमित गर्नका लागि निर्देशिका ल्याएको हो। मन्त्रालयले विद्यार्थीलाई सिकाइ प्रकृयासँग जोड्न गत जेठमा जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’लाई परिमार्जन गरेर ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ ल्याएको हो।
वैकल्पिक प्रणाली अन्तर्तग रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षा लगायत माध्यम प्रयोग गरेर सिकाइलाई निरन्तरता दिन निर्देशन दिइएको थियो। तर, वैकल्पिक सिकाइको आधारमा मूल्यांकन तथा परीक्षा गर्न नपाउने, वैकल्पिक सिकाइको आधारमा निजी विद्यालयहरूले शुल्क लिन नपाउने जस्ता विषयले वैकल्पिक सिकाइ प्रभावकारी रूपमा लागू हुन सकेको थिएन।
अब भने ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ले सिकाइ प्रणालीलाई शैक्षिक सत्रको मान्यता दिने, निजी विद्यालयहरूले विद्यार्थीलाई सिकाइसँग जोडेको आधारमा शुल्क लिन पाउने लगायतका व्यवस्था गरेको छ।