प्रश्नपत्र बाहिरिएकोबारे छानबिन गर्ने जिम्मा सीआईबीलाई
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा भएका अनियमिताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) लाई दिने निर्णय गरेको छ ।
आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको एसईई सुरक्षा समितिको बैठकले परीक्षामा भएको अनियमिताको छानबिन गर्ने जिम्मेवारी सीआईबीलाई दिएको हो ।
सीआइबीले अहिलेसम्म भएका अनियमितता र प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन गर्ने मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।
देशभर एकैसाथ भइरहेको एसईई परीक्षा अन्तर्गत १४ चैतमा प्रदेश–२ मा विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको थियो । त्यस्तै आजपनि सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित भएको छ ।
प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर प्रदेश–२ का विद्यार्थीले विभिन्न विद्यालय तोडफोड समेत गरेका छन् ।
१० चैतमा शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । प्रदेश २ मा विज्ञान विषयको परीक्षा २२ चैतमा हुनेछ भने सामाजिक विषयको परीक्षा अहिलेसम्म तय गरिएको छैन ।