प्रधानमन्त्रीले भने- ‘एसिड आक्रमणमा कडा सजाय हुने कानूनको मस्यौदा १५ दिनभित्र ल्याउँछौं’
प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नका लागि १५ दिनभित्र कानूनको मस्यौदा ल्याउने प्रतिवद्धता जनाएका छन्। एसिड आक्रमणबाट पीडित, सरोकारवाला मन्त्रालयका मन्त्री तथा प्रतिनिधिहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको अन्तरक्रियामा ओलीले एसिड आक्रमण जस्तो जघन्य अपराधमा संलग्नलाई कारबाही गर्ने कमजोर कानून भएको भन्दै १५ दिनभित्र कानूनको मस्यौदा ल्याउने प्रतिवद्धता दोहोर्याए।
कोरोना महामारीका कारण संसद नचलेकाले संसदबाट कानून ल्याउन समय लाग्ने भएकाले अध्यादेशमार्फत् अघि बढिने प्रधानमन्त्रीको भनाइ छ। उनले भने, ‘‘एसिड आक्रमणबाट अपुरणिय क्षति हुन्छ, त्यसका लागि कडा सजायको व्यवस्थालाई संसदले कानून पारित गर्नुपर्छ। अहिलेको अवस्थामा सम्भवतः अध्यादेशको बाटोबाट जानुपर्छ होला। कानून निर्माणका लागि १५ दिनभित्र मस्यौदा तयार गर्ने तयारीमा सरकार जुटेको छ।’”
प्रधानमन्त्री ओलीले एसिड पीडितको स्वास्थ्य उपचारका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुरस्थित् बोन अस्पताललाई डेडिकेटेड युनिट स्थापना गरिने पनि बताए। प्रधानमन्त्री ओलीले घटना घटेको अवस्थादेखि सम्पूर्ण उपचार खर्च, नियमित औषधि खर्च, पढ्ने उमेर रहेका र पढ्न चाहने जुनसुकै उमेरकाको पढाई खर्च तथा व्यवसाय तथा रोजगारीको सम्पूर्ण जिम्मा सरकारले लिने घोषणा पनि गरे।
उपचारका लागि ढुक्क हुन आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘‘उपचारका लागि अब ढुक्क भए हुन्छ। सरकारले घटना भएदेखिको अस्पतालको सम्पूर्ण खर्च व्यहोर्छ, औषधि कसरी किन्ने, अस्पतालको खर्च कसरी व्यहोर्ने भन्ने कुरामा अप्ठ्यारो मान्नुपर्दैन, आइडी कार्ड बनाएर बिल बुझाउने व्यवस्था हुनेछ।”
पढ्न इच्छा गर्ने पीडितहरूको पढाइको व्यवस्था पनि सरकारले गर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘‘पढ्ने उमेर पुगेका या अरु उमेरका पनि पढ्न इच्छा गर्नेहरूले पढाइका लागि चिन्ता लिनुपर्दैन। जुन विषय पढ्न चाहने हो त्यसका लागि योग्यता आफूले बनाउनुपर्यो। नर्सिङ, इञ्जिनियरिङ, म्यानेजमेन्ट जे पनि पढ्न पाइन्छ। कसरी पढ्ने होला भन्ने मनमा चिन्ता छ भने आजका मितिदेखि हटाइदिए हुन्छ।’’
प्रधानमन्त्री ओलीले पीडितले आफूले रोजेकै विद्यालयमा अध्ययन गर्न सम्भव नभए पनि सरकारले राम्रो विद्यालयमा अध्ययनको व्यवस्था मिलाउने बताए। रोजगारी गर्नेलाई पनि रोजगारी, व्यवसाय र जीविकोपार्जनको प्रबन्ध समेत सरकारले गर्ने र सीप नभएकालाई सीप प्रदान गर्ने बताए।
१२ जना एसिड पीडितसँगको भेटमा प्रधानमन्त्रीले आफूले भनेका कुरा आगामी सोमबारसम्म मन्त्रिपरिषद्बाट घोषणा हुने बताए। यी कार्यक्रम कार्यान्वयनमा आए आजको दिन (२५ भदौलाई) एसिड आक्रमण बिरुद्धको जागरण दिवसका रूपमा मनाउने र सम्भव भए सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा प्रस्ताव अघि बढाउने प्रधानमन्त्रीको भनाइ छ।
बालुवाटारमा भएको भेटमा गृहमन्त्री रामबहादुर थापा, कानून मन्त्री शिवमाया तुम्बाहाङ्फे, महान्यायाधिवक्ता अग्नि खरेल, शिक्षा, स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयका सचिवहरू पनि उपस्थित थिए।