१५ असोजदेखि आन्तरिक उडान खोल्ने सरकारको तयारी, विदेशबाट आउने हवाई यात्रुको सीमा ३ हजार पुर्याइने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आउँदो १५ असोजदेखि आन्तरिक उडान खुला गर्ने तयारी भइरहेको बताएका छन्। मन्त्री भट्टराईले विदेशबाट चार्टर्ड तथा नियमित उडान गरेर आउने हवाई यात्रुको सीमा २५ सयदेखि तीन हजार जनासम्म पुर्याउने तयारी भइरहेको पनि बताए।
आज आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको भर्चुअल छलफलमा मन्त्री भट्टराईले आन्तरिक उडान खुलाउन पर्यटन मन्त्रालयले प्रस्ताव तयार पारिसकेको जानकारी दिए। सामान्य अवस्थाको तुलनामा करीब २० प्रतिशत मात्रै उडान गर्ने गरी आन्तरिक उडान खुलाउन मन्त्रालयले प्रस्ताव तयार पारिरहेको मन्त्री भट्टराईले बताए।
उनले भने, ‘‘बडादशैंको लागि आन्तरिक हवाई उडान खुला गर्ने विषयमा मन्त्रालयले प्रस्ताव तयार गरिरहेको छ, आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर हवाई उडान खुलाउन सकिन्छ।’’
उनले विदेशबाट आउने नेपालीको लागि थप सहज वातावरण बनाउन सरकार तयार रहेको बताए। हाल दैनिक चार्टर्ड तथा नियमित उडानबाट आउने यात्रुको सीमा ८०० मात्रै रहेकोमा यसलाई बढाएर २५ सयदेखि तीन हजारसम्म पुर्याउने उनले बताए। १६ भदौदेखि सरकारले सीमित यात्रु ल्याउन पाउने गरी नियमित अन्तर्राष्ट्रिय उडान गर्न अनुमति दिएको थियो।
स्वदेश आउन चाहने नेपाली धेरै भएको र समस्यामा परेकाहरुको गुनासो बढेकोले यात्रु उडान संख्या बढाउने तयारी भएको मन्त्री भट्टराईले बताए। यस विषयमा सरकारले छिटै निर्णय गरेर सार्वजनिक गर्ने उनको भनाइ छ।
मन्त्री भट्टराईले आन्तरिक पर्यटन बढाउन दुई दिन बिदा दिने प्रस्ताव गरेको पनि जानकारी दिए। उनले आन्तरिक पर्यटकीय गतिविधि बढाउन पर्वतीय पर्यटन पनि खुला गरिने जानकारी दिए।