स्वास्थ्य राज्यमन्त्रीलाई मेडिकल कलेज सञ्चालकको प्रश्न– सरकारले यो के गर्न खोजेको ?
आफ्नो ५६ औँ स्थापना दिवसको अवसरमा नेपाल मेडिकल काउन्सिलले शुक्रबार ललितपुरको होटल हिमालयमा औपचारिक कार्यक्रम आयोजना गर्यो।
प्रमुख अतिथि थिए, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव । कार्यक्रममा चिकित्सकदेखि मेडिकल कलेज सञ्चालकसम्मको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा डा. यादवले नाफामुखी मेडिकल कलेजकै कारण मुलुकको चिकित्सा शिक्षा क्षेत्रमा विकृति निम्तिएको बताए ।
राज्यमन्त्रीको मन्तव्यपछि औपचारिक कार्यक्रम सकियो ।
लगत्तै मेडिकल कलेज सञ्चालकहरूले राज्यमन्त्री यादवसँग समय मागे र हलको एउटा कुनामा छलफल गर्न थाले ।
राज्यमन्त्रीलाई आफ्ना असन्तुष्टि राख्नेहरूमा जोरपाटीको नेपाल मेडिकल कलेजका सञ्चालक डा. भोला रिजाल, वीरगञ्जको नेशनल मेडिकल कलेजका सञ्चालक बसुरुद्दीन अन्सारीलगायत थिए ।
छलफलमा डा. रिजालले गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याललाई विद्यार्थीको निवेदनका आधारमा पक्राउ गर्न खोजिएको भन्दै आपत्ति जनाए । सरकारले आफूहरू विरुद्ध धरपकड शुरु गरेको भन्दै त्यसलाई रोक्न आग्रह गरे ।
मेडिकल कलेज छानबिनका लागि संसदीय समिति गठन गरिएकोमा पनि रिजालले विरोध जनाए । “मेडिकल कलेज सञ्चालक भनेर अनुहार देखाउन पनि लाज भइसक्यो । सरकारले के गर्न खोजेको हो ?”, उनले प्रश्न गरे ।
बसुरुद्दीन अन्सारीले महङ्गा उपकरण खरीद गरेर कलेज सञ्चालन गरिरहेकाले शुल्कको ठगी भन्न नमिल्ने जिकिर गरे । यस्ता ठगीका नाममा कलेज सञ्चालक विरुद्ध भइरहेको कारबाही रोकिनुपर्ने उनको धारणा थियो ।
एमबीबीएस, बीडीएस लगायत तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूमाथि गण्डकी मेडिकल कलेजले बढी शुल्क लिएर ठगी गरेको भन्दै २२ फागुनमा विद्यार्थीले उजुरी गरेका थिए ।
उजुरीपछि प्रहरीले कलेज सञ्चालक र कर्मचारीसहित १० जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । जसमध्ये कलेजका पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मा पक्राउ परेका छन् भने कलेजका अध्यक्ष अर्याल र प्रिन्सिपल रवीन्द्र श्रेष्ठसहित आठजना फरार छन् ।
यस्तै, ललितपुरको किष्ट लगायत मेडिकल कलेजले विद्यार्थीसँग बढी शुल्क लिएको भन्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सांसद सुरेशकुमार राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ ।
संसदीय समितिले उपसमिति नै बनाएर शुल्कको ठगीबारे छानबिन अघि बढाएपछि कलेज सञ्चालकहरू आक्रोशित भएका छन् ।