हिमालय एअरलाइन्सलाई आईएसओ मान्यता
नेपाल र चीनको संयुक्त लगानीमा संचालित हिमालय एअरलाइन्सले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्यूएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ मान्यता पाएको छ।
यस प्रमाणीकरणले एअरलाइन्सकोे सम्पूर्ण अपरेसन क्षेत्रमा उच्चतम मापदण्ड कायम गर्दै वायुयान मर्मत तथा इञ्जिनियरिङ सेवा प्रदान गर्न सक्ने दक्षता पुष्टि गर्ने हिमालय एअरलाइन्सले जनाएको छ।
अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) ले विकास गरेको आईएसओ ९००१–२०१५ ले प्रभावकारी गुणस्तर प्रणालीमार्फत् उत्पादन र सेवाले ग्राहकहरूको आवश्यकता पूरा गर्ने सुनिश्चित गर्छ।
आईएसओ ९००१–२०१५ अनुरूप बन्न एअरलाइन्सले कम्पनी अडिटलाई अंगीकार गरेकोे हिमालय एअरलाइन्सले जनाएको छ।
एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले एअरलाइन्सका लागि यो उपलब्धि निकै महत्वपूर्ण रहेको बताए। “यसले हाम्रा ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्छ”, उनले भने।
आईएसओ ९००१–२०१५ गुणस्तर व्यवस्थापन सिद्धान्तहरूमा आधारित भएर निर्मित भएकाले ग्राहक सेवामा थप जिम्मेवारबोध गराएको पनि उनले बताए।