डीएफएसकेको ग्लोरी ५६० एसयूभी कार नेपाली बजारमा
कुजु नेपालले इन्डोनेसियामा उत्पादन भएको डीएफएसकेको ग्लोरी ५६० एसयूभी कार नेपाली बजारमा बिक्री शुरू गरेको छ।
कम्पनीले यसअघि डीएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएकोमा अब ग्लोरी ५६० पनि बिक्री शुरू गरेको हो। कम्पनीले डिएसएफके ब्राण्डको उत्पादन नेपालमा बिक्री शुरू गरेको एक वर्ष पूरा भएको छ।
‘विगत एक वर्षमा हामीलाई ग्राहकले दिनुभएको मायाबाट हामी लोभिएका छौं। यसले अझै नयाँ नयाँ लोडलका एसयूभी नेपाल ल्याउन हामीलाई प्रेरित गरेको छ’, कम्पनीले भनेको छ, ‘भोलिका दिनमा अझै उत्कृष्ट एसयूभी ल्याएर ग्राहकको मन जित्न हामी लालायित छौं।
कम्पनीले ग्लोरी ५६० गाडी गएको वैशाखकै शुरूआतमा बिक्री गर्ने योजना बनाएपनि कोभिड–१९ बाट सिर्जित समस्याले रोकिएको थियो।
कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठका अनुसार ग्लोरी ५६० को लम्बाई ४५१५ एमएम, चौडाई १८१५ एमएम र उचाई १७३५ एमएम रहेको छ। यसमा २६९० एमएमको ह्वीलबेस दिइएको छ भने गाडीको कुल तौल २००५ केजी रहेको छ।
यसमा युरो ५ मापदण्डको इन्जिन दिइएको श्रेष्ठले बताए। उनका अनुसार गाडीमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ।
यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ। साथै, ५० लिटरको इन्धन ट्यांक रहेको छ। ग्राहकलाई कारको मूल्य ५७ लाख ५० हजार पर्नजाने कुजु नेपालका सञ्चालक श्रेष्ठले बताए।