कर्मचारीमा कोरोना पुष्टि भएपछि ब्यांक बन्द
रौतहटको गरुडा बजारस्थित राष्ट्रिय वाणिज्य ब्यांकका एक जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि ब्यांक अनिश्चितकालका लागि बन्द गरिएको छ।
ब्यांकका शाखा प्रबन्धक घनश्याम कटुवालले एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अधिकांश कर्मचारीमा लक्षण देखिएकाले सेवा प्रवाह बन्द गरिएको बताए।
पहिलेदेखि नै कर्मचारीको ग्राहकसित प्रत्यक्ष भेटघाट नभई सीमित कर्मचारीमार्फत् सेवा प्रवाह गराइरहेकोले कर्मचारीबाट ग्राहकमा संक्रमणको भने सम्भावना नरहेको कटुवालले बताए।
अधिकांश कर्मचारीमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गरिने ब्यांकले जनाएको छ। परीक्षणको नतिजा नआउन्जेलसम्म सबै कर्मचारी आइसोलेसनमा बस्नुपर्ने हुँदा ब्यांकबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको शाखा प्रबन्धक कटुवालले बताए।
उनका अनुसार गरुडा नगरपालिकालाई कोरोना परीक्षणको पहलका लागि जानकारी गराइएको छ। कर्मचारी संक्रमित भएपछि ब्यांकको केन्द्रीय कार्यालयले शाखा सिल गर्न निर्देशन दिइसकेको छ।