५० वर्षको अवधिमा जीवजन्तुको संख्या ६८ प्रतिशतले घट्यो
करीब ५० वर्षको अवधिमा स्तनधारी, उभयचर, सरिसृप, चराचुरुङ्गी र माछाको संख्यामा सरदर ६८ प्रतिशतले कमि आएको छ। विश्ववन्यजन्तु कोष (डब्लूडव्लूएफ) ले सार्वजनिक गरेको ‘लिभिङ्ग प्लानेट रिपोर्ट’ २०२० का अनुसार सन १९७० देखि सन २०१६ सम्म स्तनधारी, उभयचर, सरिसृप, चराचुरुङ्गी र माछाको संख्यामा सरदर ६८ प्रतिशतले कमि आएको हो।
उक्त रिपोर्टमा उल्लेख भएअनुसार, त्यसमध्ये सबैभन्दा बढी ९४ प्रतिशतले ल्याटिन अमेरिकामा संख्या घटेको छ। उत्तर अमेरिकामा ३३ प्रतिशत, अफ्रिकामा ६५ प्रतिशत, युरोप र मध्यएशियामा २४ प्रतिशत, एशिया प्यासिफकमा ४५ प्रतिशतले संख्यामा कमि आएको रिपोर्टमा उल्लेख छ।
जीवजन्तुको मुख्य बासस्थान मानिएको सिमसार क्षेत्र ८५ प्रतिशतले घटेको छ। स्तनधारी, उभयचर, सरिसृपको संख्यामा भारी मात्रामा कमि आउनुको कारण समुन्द्र सतहमा बढेको प्रदूषण, मानवीय गतिविधि, विकास निर्माण र जमीनको स्वरूप परिवर्तनलाई मानिएको छ।
जैविक विविधतामा ह्रास आउनुको प्रमुखकारण जीवजन्तुका मुख्य बासस्थान रहेका भूमि तथा समुन्द्रकोे उपयोगमा आएको परिवर्तन देखिएको छ। उत्तर अमेरिकामा ५२.५ प्रतिशत भूमि समुन्द्री तथा जमिनको उपयोगले बासस्थान क्षयीकरण र नोक्सान भएको छ भने युरोप र मध्य एशियामा ५७.९, ल्याटिन अमेरिकामा ५१.२, अफ्रिकामा ४५.९ र एशिया प्यासिफकमा ४३ प्रतिशत रहेको छ।
विश्व वन्यजन्तु कोष नेपालका प्रमुख डा. घनश्याम गुरुङ युरोप र अमेरिकामा प्रतिशतका हिसाबले अहिले कमि देखिएपनि ती महादेशमा पहिले नै पूर्वाधारको धेरै विकास भएको र तत्कालीन समयमा जीवजन्तुको प्राकृतिक बासस्थानमा धेरै क्षति पुगेको बताउँछन्। “ल्याटिन अमेरिकासहित एशिया र अफ्रिकामा धेरै चुनौती रहेको अध्ययन रिपोर्टले देखाएको छ,” उनले भने।