तीन दिन बदली र वर्षा
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको हो ।
पश्चिमी न्यून चापीय प्रणालीका साथ स्थानीय वायुको समिश्रणले मौसम बदली र वर्षा गराएको महाशाखाका मौमसविद् सुवास रिमालले जानकारी दिए ।
उनकाअनुसार आज रातिबाट प्रवेश गर्ने पश्चिमी न्यूनचापीय प्रणालीले बदली र वर्षा गराउनेछ । उक्त प्रणालीले १६ र १७ चैतमा बढी असर गर्ने देखिएको छ । ठूलो खालको प्रणाली विकसित नभए पनि बदली र मेघ गर्जनसहित क्षणिक वर्षा गराउनेछ ।
आज साँझ पूर्व, मध्य र पश्चिमी पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । मध्य र पूर्वी हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
भोलि, शनिबार पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने र पूर्वी पहाडी भेगका थोरै स्थान र मध्य तथा पश्चिमका पहाडी भेगका एक÷दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी १७ चैत, आइतबार पूर्वी र मध्यपहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानको मौसम आंशिक बदली रहनेछ । पूर्वी र मध्यपहाडी स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना छ । आज काठमाडौंको न्यूनतम १४ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ ।