प्रकाशोन्मुख पुस्तकमा पत्रकार बब वुडवार्डको दाबी– ट्रम्पले जानीबुझी कोरोना संकटसँग खेले
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लुको तुलनामा कोरोनाभाइरस धेरै खतरनाक भएको जानीबुझी पनि संकटमा खेल्न यसलाई कम आँकेको एक ख्याति प्राप्त पत्रकारको प्रकाशन हुन लागेको पुस्तकमा दाबी गरिएको छ।
पत्रकार बब वुडवार्डको आउँदै गरेको पुस्तकमा कोरोनाभाइरसबाट अमेरिकामा पहिलो मृत्यु हुनुअघि नै ट्रम्पले यसलाई ‘ज्यान लिन सक्ने रोग’ बताएको दाबी गरिएको छ। वुडवार्डले ट्रम्पसँग डिसेम्बर २०१९ देखि जुलाई २०२० सम्म १८ पटक अन्तरवार्ता गरेका थिए।
वुडवार्ड तिनै पत्रकार हुन्, जसले सन् १९७० को दशकमा वाशिङ्टन पोष्टका अर्का पत्रकार कार्ल बास्टिनसँग मिलेर वाटरगेट काण्ड बाहिर ल्याएका थिए। त्यहीकारण दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित रिचार्ड निक्सन राजीनामा दिन बाध्य भएका थिए। निक्सनले चुनाव जित्न डेमेक्र्याट्सको कार्यालयमा गरेको जासुसीबारे उनीहरुले श्रृङ्खलाबद्ध रिपोर्ट प्रकाशन गरेका थिए।
वुडवार्डको प्रकाशन हुन गइरहेको पछिल्लो पुस्तकका केही अंश बुधबार अमेरिकी मिडियाहरुमा छापिएका छन्। ती मिडियाका अनुसार पुस्तकमा ट्रम्प कोरोना महामारी, नस्लवाद र अन्य मुद्दामा के सोच्छन् भन्ने उल्लेख छ।
पुस्तकबारे प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन् कि कोरोना महामारीका कारण मानिसहरुलाई भएको दुःख उनी हटाउन चाहन्थे। अमेरिकामा कोरोनाकै कारण अहिलेसम्म एक लाख ९० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
पुस्तकमा लेखिए अनुसार गएको फेब्रुअरीमा ट्रम्पले वुडवार्डसँगको कुराकानीमा भनेका थिए कि कोरोनाभाइरस फ्लुभन्दा बढी ज्यानै लिने खालको छ। उनले भनेका थिए, “यो हावाबाट फैलिन्छ। यसलाई छुन पनि जरुरी छैन। तिमीले श्वास लिएपछि नै यो तिमीसम्म आइपुग्छ। यो फ्लुभन्दा बढी खतरनाक छ।”
तर, फेब्रुअरीमै उनले सार्वजनिक रुपमा भने कि कोरोनाभाइरसभन्दा फ्लु खतरनाक हो। उनले भाइरस पूरै नियन्त्रणमा रहेको र केही दिनमै संक्रमितको संख्या शून्य हुने भनेर झूट बोलेको पनि पुस्तकमा उल्लेख छ।
ट्रम्पले १० मार्चमा राजधानी वाशिङ्टनमा भनेका थिए, “तपाईं शान्त रहनुस्। यो (कोरोना) आफैँ टाढा भाग्छ।” त्यसको नौ दिनपछि अमेरिकामा कोरोना महामारीका कारण राष्ट्रिय आपतकाल घोषणा भएको थियो।
-बीबीसीबाट